निर्वाचन आयोगले चुनावमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय जन्मिएका नयाँ राजनीतिक दलहरूको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
अहिले आयोगमा एक सय पाँच वटा राजनीतिक दल दर्ता भएका र चुनाव प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरू दल पनि दर्ता हुन सक्ने र चुनावमा भाग लिन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
प्रवक्ता पौडेलले भन्नुभयो, ‘सर्वोच्च अदालत, निर्वाचन आयोगले दलहरूको विवाद सल्टाएर अहिले एक सय पाँच दल कायम छन् । स्थानीय तहको चुनावका लागि पुनः दल दर्ता गर्न आह्वान गरेको सूचनाअनुसार दलहरू दर्ता हुन आए भने ती पनि चुनावका लागि योग्य हुन्छन् ।’
केही दिनमै निर्वाचन कार्यतालिका प्रकाशित हुने
आयोगले केही दिनभित्रमै २०७९ वैशाख ३० गतेसम्मकै लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले मतदाता नामावली सङ्कलनको काम स्थगित भएको उल्लेख गर्दै अब मतदाता नामावलीको अद्यावधिकको काम सुरु हुने बताउनुभयो ।
अन्तिम मतदाता नामावली प्रकाशित हुन भने अझै डेढ महिना लाग्ने आयोगले जनाएको छ । उज्यालो अनलाइन बाट सभार









Discussion about this post