नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले भने, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत रुपमा चल्नुभएको छैन। तर, हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ।’
एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे। उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारे।
उनले भने, ‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ। त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन। नेपाली जनताको समर्थन र सहारा चाहिएको छ। जनताको माहोल अहिले एमालेतिर छ।’
उनले एमालेलाई पत्तासाफ गर्छु भनेर प्रचण्डले भनेको हो भने पहिले चुनाव गराउन सुझाव दिए। प्रचण्डलाई चुनौती दिँदै भने, ‘यदि प्रचण्डले एमालेलाई चुनावमा पत्तासाफ गर्छु भनेको हो भने पहिले चुनाव गराएर हेर्नुहोस, अनि को हुन्छ पत्तासाफ? प्रचण्डको कुरा हावादारी कुरा हो। २०७४ सालको चुनावमा एमालेसँग नमिलेको भएमा माओवादीको हालत के हुन्थ्यो? प्रचण्ड उकालो लाग्ने भए उहाँले किन गठबन्धनतिर लाग्नु पर्दथ्यो र?’उनले आफूहरुले पाँच दलीय गठबन्धन तोड्न नखोजेको पनि स्पष्ट पारे। गोदावरी न्युज बाट सभार









Discussion about this post