

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा दर्ता भएको अवस्थामा मात्रै आफ्नो पार्टीले धारणा स्पष्ट पार्ने बताउनुभएको छ । आज सोमवार पार्टीको केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको छ ।
एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भए पनि संसदमा दर्ता हुने÷नहुने यकिन नभएको बताउँदै सचिव अर्यालले भन्नुभयो, ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ, त्यो एमसीसी संसदमा दर्ता हुन्छ कि हुँदैन भन्ने कुनै यकिन छैन । त्यसैले त्यो विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ । जतिबेला त्यहाँ दर्ता हुन्छ त्यो बेला एमालेले आफ्नो पोजिशन क्लियर गर्नेछ ।’


पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा चुनावको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिनुभयो ।

यस्तै उहाँले स्थानीय तहको चुनाव मिति छिटो भन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब दिनुभयो । उज्यालो अनलाइन बाट सभार
