

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पु¥याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरेका छन्। मन्त्री श्रेष्ठले ठगीमा परेकाहरुले आफ्ना गुनासो सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन आग्रह गरे।

‘अलपत्र पारेको, ठगीमा परेको, विविध समस्या तथा अप्ठ्यारोमा पर्नुभएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरुबारे जानकारी गराइ सहयोग गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु‚’ मन्त्री श्रेष्ठले भने‚ ‘त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३३५६७०४ र ९८२३३५६७०६ मा सिधा सम्पर्क गरी गुनासा, आफूलाई परेका समस्याहरु टिपाउन सक्नुहुनेछ।’


उनले दलालहरुबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरुको खोजि, श्रम सम्झौता र विभिन्न देशका कूटनीतिक नियोगहरुसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको बताए। दलालहरुले नेपाल सरकारले प्रतिबन्ध गरेका देशहरुमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न पनि मन्त्री श्रेष्ठले आग्रह गरे।
मन्त्री श्रेष्ठले भिजिट भिसामा गई युएईमा गएर अलपत्र परेका कामदारहरुको विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए। वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसाको रुपमा श्रमिकहरुलाई अलपत्र बनाउने कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको उनले बताए। मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरुले प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरे। थाहा खबर बाट सभार
