बैतडी- १७ माघ, बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मुडापका महिला किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न सफल भएका छन् । पहिला पहिला चुलोचौकोमा सिमित रहेका महिलाहरु पछिल्लो समयमा तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका हुन् ।
अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुन थालेपछि आफूहरु तरकारी खेतीमा आवद्ध भएको गतिशील महिला सशक्तीकरण कृषक समूहका अध्यक्ष लक्ष्मी भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिले तरकारी खेतीमा लागेपछि हामीहरुको जीवनमा महत्वपूर्ण परिवर्तन आएको छ । हामीहरु तरकारी खेतीबाटै आम्दानी गर्न सफल भएका छौं ।’
तरकारी खेतीबाट महिलाहरुको आर्थिक क्षेत्रमा समेत पहुँच बढेको भाटले बताउनुभयो । पहिला पहिला समान्य कामका लागि घरपरिवारबाटै पैसा माग्ने गरेको भएपनि अहिले आफूहरुले नै घर खर्च चलाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘श्रीमानले भारतबाट कमाएको पैसा बचत गर्छौं । घरखर्च हामीहरु आँफै चलाउँछौं ।’
तरकारी खेतीबाट बार्षिक १ लाख बढी कमाउने गरेको अध्यक्ष भाटले बताउनुभयो । अहिले आफूहरु समूहमा २० जना आवद्ध भएको र प्रत्येक महिला सदस्यहरुले तरकारी खेती गरिरहेको उहाँले बताउनुभयो । तरकारीखेतीबाट परनिर्भरता हटेको स्थानीय रेनु भाटले बताउनुभयो । उहाँले भन्नुभयो ‘अन्य बालीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएपछि हामीहरुले तरकारी खेती शुरु गरेका हौं । यसबाट हामीलाई आर्थिक र सामाजिक रुपमा सहयोग पुगेको छ ।’

अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुन थालेपछि आफूहरु तरकारी खेतीमा लागेको वासुदेव महिला कृषक समूहका अध्यक्ष पार्वती भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘तरकारी खेतीमा लागेपछि अहिले आफूहरुलाई घर खर्च चलाउन सजिलो भएको छ ।’
तरकारी खेतीमा लागेका महिलाहरुलाई रुडेस बैतडीले अक्सफाम नेपालको सहयोगमा सञ्चालन गरिरहेको आर्थिक उत्थानशीलता कार्यक्रम मार्फत बीउ र प्रविधिमा सहयोग गरिरहेको कार्यक्रम संयोजक गोपाल भाटले जानकारी दिनुभयो । समूहमा आवद्ध महिलाहरुलाई बेलाबेलामा सिजन अनुसारको बीउ र प्राविधिक सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

कृषि समूहमा आवद्ध महिलाहरुलाई साप्ताहिक रुपमा सशक्तीकरण कक्षा समेत सञ्चालन गरिरहेको सहजकर्ता रेनुका भट्टले बताउनुभयो । सो कक्षामा महिला हक अधिकारका बिषयमा पनि छलफल हुने गरेको उहाँले बताउनुभयो ।
(भगीरथ अवस्थीले ninglashainionline.com मा लेखेका छन्।)
