बैतडी,माघ १७- विगत ९ बर्षदेखि बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चार सेवा प्रदान गरिरहेको रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जले केही दिनभित्रै अनलाइन टीभी शुरुवात गर्ने भएको छ । अनिरुद्र प्रशारण प्रालिद्वारा सञ्चालित रेडियोले सञ्चारका अन्य विधामा पनि आफ्नो क्षेत्र विस्तार गर्न लागेको रेडियोका प्रबन्ध निर्देशक महेश अवस्थीले जानकारी दिनुभयो ।
सञ्चारका विभिन्न क्षेत्रमा नागरिकको पहुँच स्थापित गर्नका लागि अनलाइन टीभीको तयारी भएको उहाँले बताउनुभयो । अनलाइन टीभी सञ्चालनका लागि स्टुडियो तयार भईसकेको छ भने उपकरण जडानको काम समेत भईसकेको छ ।
सञ्चार क्षेत्रमा अडियो, भिडियो र अनलाइन सहित सेवा सञ्चालन गर्ने उद्देश्यले अनिरुद्र प्रशारण प्रालिले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सञ्चारका विभिन्न आयाममा आम नागरिकका पहुँच बढाउनका लागि हामीले प्रयास गरिरहेका छौं । यसका लागि अनलाइन टीभी सञ्चालन गर्ने योजना बनाएका छौं ।’
यस्तै रेडियो निङ्गलाशैनीको पनि क्षमता वृद्धि गर्दै सतबाँझको टावरबाट प्रशारणको तयारी भएको छ । सेवा क्षेत्र पहुँच अभिवृद्धिका लागि रेडियोले थप क्षमताका साथ आफ्नो प्रशारणलाई व्यवस्थित बनाउने तयारी गरेको प्रबन्ध निर्देशक अवस्थीले बताउनुभयो ।

यस्तै रेडियोबाट प्रशारित सामग्रीलाई भिडियो मार्फत पनि दर्शकहरुलाई जानकारी गराउन अनलाइन टीभी सञ्चालनको तयारी भएको हो । मिडियाका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भएकाले मिडियाका अन्य आयामहरुमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
रेडियो निङ्गलाशैनी तमाम श्रोता, शुभचिन्तक र सहयोगीहरुका कारण अघि बढीरहेकाले अबका दिनमा पनि यस्तै साथ पाउने विश्वास गरिएको प्रबन्ध निर्देशक अवस्थीले बताउनुभयो ।

(ninglashainionline.com बाट साभार)
