सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विचार र बौद्धिकता हारेको देश

विनोद न्यौपाने
बौद्धिकताले तर्क गर्छ, नहुने कुरा हुँदैन भन्छ तर यो ग्रहण गर्ने शक्ति र हिम्मत नेतृत्वमा नरहेपछि बौद्धिकता हार्नु स्वाभाविक हो।

विचार व्यक्ति, समाज र राष्ट्रको ऊर्जा हो। त्यसैको बलमा राष्ट्र र समाज उठ्ने र ढल्ने गर्छ। त्यस्तो विचार ज्ञान र विज्ञानका केन्द्रहरूले निरन्तर अध्ययन, अध्यापन, अनुसन्धान, परिष्कार र परिमार्जनबाट प्राप्त हुन्छ।

विकसित र समृद्ध मुलुकहरूको विकास र समृद्धिको इतिहास पढ्दा उनीहरूको त्यो उपलब्धिमा राज्य र सरकारहरूले ज्ञान–विज्ञान र प्रविधिका अनेक क्षेत्रमा गरेको लगानी, तिनको पक्षमा सावित गरेको प्रतिबद्धता ज्ञान–विज्ञानका त्यस्ता केन्द्रहरूलाई राज्यहरूबाट प्राप्त संरक्षण, राज्य सञ्चालनसम्बन्धी विविध विषयमा विद्वान्हरूबीच नियमित गराइने बहस, सम्मेलन, गोष्ठी आदिबाट प्राप्त निष्कर्षलाई राज्य नीतिको रूपमा अख्तियार गरिने अभ्यासहरूले उन्नत राज्य व्यवस्था, उन्नत तन्त्र र समाज निर्माण गरेको इतिहास हाम्रासामु छ।

इतिहासले बताउँछ– कुनै समय भारत संसारको सबैभन्दा शक्तिशाली र समृद्ध राज्य थियो। त्यसको कारण त्यहाँका विश्वविद्यालयहरूले ज्ञान र विज्ञान क्षेत्रमा प्राप्त गरेको उपलब्धि थियो। उदाहरणका लागि त्यहाँको तक्षशिला विश्वविद्यालय ईशापूर्व ७०० मा स्थापना भइसकेको थियो। ईशापूर्व पाँचौं शताब्दीमा यो ठाउँ विश्वको प्रमुख शैक्षिक केन्द्रको रूपमा स्थापित भइसकेको थियो। विविध विषय अध्ययन गर्न विभिन्न मुलुकबाट आएका १० हजारभन्दा बढी विद्यार्थी त्यहाँ अध्ययन गर्दथे। अलग–अलग विषय अध्ययन गर्ने अलग–अलग केन्द्रहरू विशाल भूभागमा विस्तारित भएको अध्ययनहरूले बताएका छन्। बनारस हिन्दु विश्वविद्यालयले पनि त्यसको एउटा संक्षिप्त झल्को दिन्छ।

Mahakali Polytechnic

विश्वविद्यालयको रूपमा नालन्दा विश्वविद्यालयको स्थापना त धेरै अघि भएको थियो। तर पाँचौं शताब्दीमा कुमार गुप्त प्रथमको शासनकालमा यसको विराट् संरचना निर्माण भएको थियो। यसको मुख्य भवन १४ हेक्टरमा फैलिएको पुरातत्ववेत्ताहरूले उल्लेख गरेका छन्। बाह्रौं शताब्दीसम्म विश्वको प्रमुख ज्ञान–विज्ञान केन्द्रको रूपमा रहेको नालन्दा विश्वविद्यालय तुर्कहरूको आक्रमणमा ध्वस्त भयो। हजारौं शिक्षक र विद्यार्थीहरू काटिए, जिउँँदै जलाइए। नालन्दा विश्वविद्यालयको पुस्तकालयमा लगाइएको आगो ६ महिनासम्म ननिभेको उल्लेख इतिहासकारहरूले गरेका छन्। त्यसरी ज्ञान मासियो, विज्ञान हरायो, कला, साहित्य नासियो अनि भारत अन्धकार युगमा प्रवेश गर्‍यो। शताब्दीयौंसम्म पहिला मुसलमान र पछि अंग्रेजहरूको शासनमा रह्यो।

World Link Ads

युरोपमा एघारौं शताब्दीमा बोलोग्ना (इटाली) मा पहिलो विश्वविद्यालय स्थापना भयो। सन् ११७० मा पेरिस विश्वविद्यालय स्थापना भयो। सँगै जस्तो गरेर क्याम्ब्रिज, अक्सफोर्ड हेडलबर्ग विश्वविद्यालयहरू स्थापना भए। ती विश्वविद्यालय स्थापना हुनेबित्तिकै युरोप ज्ञान–विज्ञानको केन्द्र बन्यो। भारत र चीनको समृद्धि युरोपतिर सर्‍यो।

Sana Kishan

अमेरिकामा १६५० मा हार्वर्ड विश्वविद्यालय, १७०१ मा येल विश्वविद्यालय १७५५ मा पेनसाल्भानिया विश्वविद्यालयलगायत विभिन्न कलेज र विश्वविद्यालय स्थापना भए। अनि फेरि ती विश्वविद्यालयले आफ्ना ज्ञान, विज्ञान र विचार दर्शन निर्माणको उदार र निर्बन्ध परम्परा सँगै विश्वको शक्ति र समृद्धिको केन्द्र अमेरिका बन्न पुग्यो। आज चीनलगायत संसारका विभिन्न भागमा भएका प्रगति र समृद्धिमा तिनै अमेरिकी विश्वविद्यालयहरूबाट उत्पादित ज्ञान, विज्ञान र प्रविधिको योगदान रहेको प्रस्ट छ।

लिच्छवीकाललाई नेपालको स्वर्ण युग मानिन्छ। कारण प्रस्ट छ। लिच्छवीकालीन नेपालका शासकहरू आफैं शिक्षित थिए। आफ्ना भाइभारदार र जनताका सन्तानलाई ज्ञानार्जन गर्न प्रोत्साहन गर्थे, सहयोग पनि गर्थे। भारतमा ज्ञानार्जनका लागि नेपाली जान्थे, ज्ञान, सीप आर्जन गरेर फर्किन्थे र राज्यले उनीहरूलाई उच्च सम्मानका साथ ज्ञानकै प्रसार र विस्तारमा लगाउँथ्यो।

मानदेवको मानगृह र अंशुवर्माको कैलाशकुट भवन त्यो युगको विश्वकै अद्वितीय भवन थिए भनेर चिनियाँ तीर्थयात्रीहरूले उल्लेख गरेको नेपालका इतिहासकारले उल्लेख गरेका छन्। साततले उक्त भवनको माथिल्लो तलामा १० हजार मानिस अटाउँथे भनेर इतिहासकार ज्ञानमणि नेपालले नेपाल निरुक्त नामक पुस्तकमा उल्लेख गरेका छन्। सम्भवतः राजालाई नागरिकसँग एउटै थलोमा बसेर संवाद गर्न परामर्श लिन उक्त कक्ष बनाइएको थियो।

संस्था भनेको कानुनको राज्य हो। कानुनी राज्यमा व्यक्ति नभई नियम–कानुन प्रधान हुन्छ। व्यक्तिले परनिर्भर भएर शासन चलाउन थालेपछि कानुनी राज्यको कल्पना गर्न सकिन्न।

आफ्नो संसद्का लागि एउटा भवन बनाउन नसकेर भाडाको भवनमा संसद् चलाउन परेको वर्तमान नेपालले आफ्नै इतिहासबाट सिके हुन्छ। व्यक्तिलाई विचारले क्रियाशील गराउँछ। स्पष्ट विचारले मात्रै व्यक्तिलाई सही दिशामा हिँडाउँछ। विचारवान् व्यक्तिले नै राष्ट्र र समाजलाई दिशानिर्देश गर्छ। विचारमै विचलन आएपछि न व्यक्ति बन्छ, न समाज न त राष्ट्र। नेपाली समाजले यतिबेला स्पष्ट विचार र दृष्टिकोण भएको व्यक्ति खोजेको छ, जसले राष्ट्रलाई सही दिशानिर्देश गरोस्।

दुर्भाग्यवस यहीं नै हामी असफल भयौं। हाम्रा विश्वविद्यालयहरू, स्कुल र कलेजहरू सफल भए। मानिसले विचार जानेनन्, दल जाने, विचार निर्माणको पाटोमा बहस सिकेनन्, मुड्की र लट्ठी सिके। देशका भएनन् दलका र नेताका भए। अनि उनीहरूमा राष्ट्र हरायो।

त्यसैले राष्ट्रनिर्माण अभियानमा कुनै राजनीतिज्ञ देखिएन, जसले समाज एकीकृत गरेर अघि बढोस्। आफूलाई राजनीतिज्ञ भन्नेहरू अहंकारले ग्रसित छन् तर त्यसले निम्त्याउने विनाशको बाटोबारे अनभिज्ञ। संरचनामा परिवर्तन ल्याएर मात्र हुँदैन निर्माण प्रयोजनमा पनि ऐक्यबद्ध हुन सक्नुपर्छ भन्ने चेत ती राजनीतिज्ञमा पलाउनै सकेन। त्यसैले त भन्ने गरिएको छ– लोकतान्त्रिक अधिकारको उपयोग लोकतन्त्रमै विश्वास नहुनेहरूले गरिरहेका छन्, ज्ञान र विचार नबुझेको र नबोकेको लोकतन्त्रको अभ्यास गरिरहेका छन्।

राजनीतिक पार्टीको जिम्मेवार व्यक्तिमा राजनीतिलाई हेर्ने आफ्नो दृष्टिकोण हुनुपथ्र्यो तर राजनीतिज्ञमा व्यक्तिगत र दलगत स्वार्थबाहेक फरक दृष्टिकोण भेट्नै सकिएन। निश्चित राजनीतिक विचार बोकेको व्यक्ति आफ्नो विचार र उद्देश्यबारे स्पष्ट हुनै सकेन। राजनीति गर्ने व्यक्तिको न स्पष्ट सिद्धान्त छ, न विचार र दृष्टिकोण न त भावी कार्यदिशा नै। अनि हामीले खोजेको समृद्ध नेपालको कल्पना कसरी सम्भव हुन्छ ? नयाँ पद्धति स्थापना मात्र सबैथोक होइन।

राष्ट्रियता, प्रजातन्त्र र आम जनताको समृद्धि महत्त्वपूर्ण कार्यदिशा हुनुपथ्र्यो। तर नयाँ व्यवस्था स्थापनापछि पुरानो व्यवस्था फाल्न एकजुट हुनेहरू छरिएर आपसमा शत्रु हुन थाले। अनि नागरिकले कसरी प्राप्त गर्ने स्वतन्त्रता, समृद्धि र समान अवसर ? पछिल्लो ३० वर्षमा अन्तस्करणदेखि नै देश र जनताको हिमायती हुने कुनै माइकालाल देखिएन। बौद्धिकता र नैतिकताबीचको अन्तरालको उपज मान्नुपर्छ यसलाई। बौद्धिकता र नैतिकता सँगसँगै अघि बढे मात्र देश र व्यक्तिको कल्याण हुन्छ नत्र त्यसले विस्फोटको रूप लिन्छ भन्ने चेत राजनीतिज्ञमा पलाउनै सकेन। परिणाम दुईतिहाइको सरकार हुँदा पनि व्यवस्थाकै स्थिरतामा प्रश्न उठिरहेको छ।

हो, राजनीतिक व्यवस्था सञ्चालन गर्न संस्थाहरू चाहिन्छ। तर यहाँ भएका संस्थाको पनि क्षयीकरण भइरहेको छ। आन्तरिक सहयोगको बाह्य कारण यहाँ कुनै संस्था बन्नै दिइएन। संस्था भनेको कानुनको राज्य हो। कानुनी राज्यमा व्यक्ति नभई नियम–कानुन प्रधान हुन्छ। व्यक्तिले परनिर्भर भएर शासन चलाउन थालेपछि कानुनी राज्यको कल्पना गर्न सकिन्न। देशकै मुख्य अंग मानिने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संस्था मात्र बन्न नसकेका होइनन्, स्वतन्त्र रूपमा चल्ने हैसियत पनि राख्दैनन्। योभन्दा विडम्बना के हुन सक्छ लोकतन्त्रमा ?

अंगगणितमा दुईतिहाइको सरकार छ देशमा। एउटा कुनै त्यस्तो विधेयक व्यवस्थापिकामा प्रस्तुत होस्, जो आमसरोकारवालाले समर्थन गरून्। पत्रकार हितमा ल्याइएको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार सडकमा, गुठीसम्बन्धी विधेयकविरुद्ध गुठीयार सडकमा, सार्वजनिक खरिद नियमावलीको सातौं संशोधनविरुद्ध निर्माण व्यवसायी सडकमा। शिक्षा र मानवअधिकार विधेयकविरुद्ध सरोकारवालाको तीव्र आक्रोश। लोकसेवा आयोगको विज्ञापनविरुद्ध संसदीय समितिहरू।

संसारकै एक मात्र हिन्दुबाहुल्य देशका हिन्दुवादी सनातन धर्म रक्षाका लागि सडकमा। बलियो सरकार कसका लागि के काम गरिरहेको छ ? विपक्षी दल त शत्रु भए, भए तर आम सरोकारवाला किन विरोध गरिरहेका छन् ? दुईतिहाइको कार्यपालिका बलियो छैन भन्ने योभन्दा पछिल्लो प्रमाण के हुन सक्छ ? राजधानी उपत्यकामा गुठी समाप्त पार्ने गरी विधेयक संसद्मा दर्ता गर्नुको औचित्य के हो ? गुठीको जग्गा हिनामिना हुनबाट जोगाउनुपर्ने सरकार आफैं त्यसबाट पछि हट्छ। पाटनको मंगलबजारमा बिहीबार भएको गुठियारहरूको प्रदर्शनले गतिलो जवाफ दिएको छ। जसले भोलि सरकारको भविष्यको समेत निर्धारण गर्ने हैसियत राख्छ भन्नेतर्फ बेलैमा सजग हुन आवश्यक छ।

न्यायपालिका राजनीतिक भागबन्डाको भइहाल्यो त्यसको निष्पक्षतामा कैयौं प्रश्न उठि नै सकेका छन्। किनकि ऊ निर्देशित रूपमा चलिरहेको छ। यसबारे धेरै चर्चा सान्दर्भिक छैन। तर लोकसेवा आयोगको अधिकार खोस्ने काम कसको सल्लाहमा हुँदै छ ? राज्यका अंग एकपछि अर्को गरी जर्जर भइरहेको अवस्थामा फेरि राजनीतिक भागबन्डाले के हालत होला ? शिक्षित र सक्षम युवा बेरोजगार हुनु र सक्षम कर्मचारी अभावमा स्थानीय निकाय क्रियाशील हुन नसकिरहेको अवस्थामा एक मात्र निष्पक्ष संस्थामाथि अन्तर्घात गर्ने शैलीले मुलुकको मुहार कसरी फेरिएला ?

बौद्धिकता किन आवश्यक छ भन्ने प्रश्नको उत्तर यहाँनेर चाहिएको हो। बौद्धिकताको प्रयोग भएको भए सायद हरेकजसो विधेयक विवादमुक्त हुन सक्थे होलान्। प्रधानमन्त्रीले सुरुमै बौद्धिकताको विरुद्ध कठोर बन्ने सन्देश दिएका थिए। बौद्धिकताको महत्त्व थाहा भएको भए विधेयकहरूको यो हालत हुने नै थिएन।

बौद्धिकहरू किन टिक्दैनन् ?

०४८ मा बनेको दोस्रो जननिर्वाचित सरकारका परराष्ट्र सल्लाहकारमा प्राध्यापक यदुनाथ खनाललाई नियुक्त गरियो। आजसम्म देशविदेशले नेपाली भनेर चिनेमध्येकै विद्वान् मानिन्थे खनाल। राजा महेन्द्रलाई समेत कानुन उल्लंघन नगर्न चेतावनी दिने हैसियत राख्थे उनले। खनाल सल्लाहकारमा धेरै समय बसेनन्। किनकि उनको सल्लाह प्रयोग गर्न मात्र भयो उपयोग हुन सकेन।

२०४९ कात्तिकमा नयाँ निजामती सेवा ऐन जारी गरियो। त्यही ऐनअनुसार तीन हजार कर्मचारी पजनीमा परे। प्रशासन सुधार अनुगमन समितिका अध्यक्ष कुलशेखर शर्मासँग परामर्शसमेत नगरी यो निर्णय भयो। शर्माले राजीनामा दिए। सरकारका प्रशासनिक सल्लाहकार दीर्घराज कोइरालाले पनि कर्मचारी पजनीको विषयलाई कारण बनाएर राजीनामा दिए।

प्राध्यापक कृष्ण खनाल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दोस्रो कार्यकालमा राजनीतिक सल्लाहकार भए। तर उनी धेरै दिन टिक्न सकेनन्। उनको बौद्धिकता सरकारलाई काम लागेन। समाजमा हैसियत बनाएका व्यक्ति राजनीतिक कार्यकर्ता बन्न सक्दैन। एस म्यान बन्न नसकेपछि त्यहाँ बस्नुको औचित्य थिएन, उनी छाडेर गए।

डा. पीताम्बर शर्मालाई बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइयो। उनी पनि धेरै समय टिक्न सकेनन्। सायद दलको कार्यकर्ता बन्न चाहेनन् होला उनले। पछिल्लोपटक प्राध्यापक चैतन्य मि श्र सायद देशमै पहिलोपटक गठन गरिएको थिंक ट्यांक समूहमा नियुक्त गरियो। उनी पनि छोटो समयमै अलग भए। भनेको मान्नैपर्ने कम्युनिस्ट शासकीय शैलीको परिणाम हुनुपर्छ उनको बहिर्गमन।

किन उपयोग हुन सकेनन् बौद्धिकहरू ?

पछिल्लो २८ वर्षमा बौद्धिकताको उपयोग हुन नसक्नुका प्रतिनिधि पात्र उदाहरण मात्र हुन् यी व्यक्ति। क्षमतावान् र बौद्धिक व्यक्तिको उपयोगमा बहुदलवादी चुक्दै आउनुको परिणाम व्यवस्था बदलिए पनि अवस्था बदलिन सकेन। सबैथोक आफैंले जानेको लज्जास्पद अभिनय गर्ने राजनीतिज्ञको बुद्धि नफिरेसम्म बुद्धिजीवीलाई जुन ठाउँ दिए पनि परिणाम आउन सक्दैन।

जनमत सिर्जना गर्ने बौद्धिक समुदाय हो तर उनीहरूको सहयोगको भ्यालु नभएपछि नेतृत्वको स्खलन स्वाभाविक भयो। खनाल, शर्मा र मि श्रहरूको अनुभव, ज्ञान, वुद्धि र विवेक राज्यले प्रयोग गर्न सक्नुपथ्र्यो। बौद्धिकतालाई पचाउन सक्ने आधार नै निर्माण गरिएन। राजनीतिक स्वार्थले उद्वेलित भएपछि बौद्धिकताले अर्थ राख्दैन। बौद्धिकताले तर्क गर्छ, नहुने कुरा हुँदैन भन्छ। तर यो ग्रहण गर्ने शक्ति र हिम्मत नेतृत्वमा नरहेपछि बौद्धिकताले हार्नु स्वाभाविक भयो।

के भन्छन् खनाल र शर्मा

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकारबाट किन राजीनामा दिनुभएको भन्ने प्रश्नमा प्राध्यापक कृष्ण खनालले भने, ‘उहाँहरूले भनेको कुराको सही थाप्नुलाई मात्र सल्लाह ठान्ने प्रवृत्ति पचाउन नसकेरै मैले राजीनामा दिएको हुँ। हाम्रो शासन र प्रशासनमा प्रोफेसनल फिडब्याक लिने चलन नै छैन। आफ्नो ज्ञानले दिएको भन्दा बाहिर गएर काम गर्न चेतनाले पनि दिएन।’

त्यसो भए राजनीतिक सल्लाहकारमा जानुअघि नेपाली राजनीतिक चरित्रबारे जानकार हुनुहुन्थेन त भन्ने प्रश्नमा खनालले भने, ‘राजनीतिक चरित्र बुझ्दाबुझ्दै पनि देशलाई केही दिन सकिन्छ कि भनेर गएको हुँ। मागेर गएको होइन, बोलाएर गएको हुँ। किनकि, हामीलाई पहिचानको आवश्यकता थिएन। प्रयोग हुने उपयोग नहुने भएपछि त्यहाँ बस्नुको औचित्य नदेखेरै बाहिरिएको हुँ।’

हो, पार्टीगत आधारमा सल्लाहकार भएर जाने व्यक्तिलाई भोलिको राजनीतिबारे चासो हुन्छ। निर्वाचनमा टिकटदेखि भोलिका लागि अर्को नियुक्ति सुरक्षित गर्नुपर्ने हुन्छ। त्यसबाहेक अरू पनि थप फाइदा लिनुपर्छ। जतिसक्दो त्यो पदको उपयोग गर्ने। जीवनभर नै अध्ययन–अनुसन्धानमा बिताएको व्यक्तिमा मुलुकलाई केही दिन सकिन्छ कि भन्नेबाहेक कुनै स्वार्थ हुँदैन। बौद्धिक व्यक्तिको प्रयोग गर्ने उपयोग नगर्ने संस्कृति हावी भएपछि कुनै पनि बौद्धिक मान्छे कहीं पनि टिक्न सक्दैन भन्ने अहिलेको राजनीतिक संस्कारले सिकाएको खनाल बताउँछन्। यदुनाथ खनालजस्तो व्यक्तिलाई समेत प्रयोग गरेर उनको ज्ञान, अनुभव र विचारलाई उपयोग नगरेको राजनीतिले सही बाटो लिन्छ भन्नेमा आफू विश्वस्त नभएको खनालको भनाइ छ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष बनाइएका प्राध्यापक पीताम्बर शर्मा सय दिन पदमा बसे। देश विकासमा योगदान दिने हैसियत राख्ने तपाईंजस्तो मान्छे किन छोटो समयमै योजना आयोग छाड्नुपर्‍यो भन्ने प्रश्नमा शर्माले भने, ‘राजनीतिले खास उद्देश्य लिएर पदमा पुर्‍याउँछ तर त्यो मान्छेको धारणाप्रति चासो राख्दैन। उसको आकांक्षाप्रति ध्यानै दिँदैन। आत्मसम्मान नहुने पदमा औचित्यहीन भएर बस्नुभन्दा छोड्नु नै उचित लाग्यो। किनकि मसँग कुनै व्यक्तिगत स्वार्थ थिएन।’

‘निश्चित मिसन लिएर गएको थिएँ। ठूलो राजनीतिक परिवर्तनमा सहयोगी हुन सक्छु कि भन्ने थियो, जागिर खाने सोच थिएन। मेरो पद्धति निर्माण गर्ने सोचमा सहयोग र समर्थन नभएपछि बस्न उचित लागेन’, शर्माले भने। कुनै पदमा अपेक्षा लिएर गइन्छ तर त्यो अपेक्षा पूरा हुँदैन भने पदमा बस्नुको मात्र औचित्य नहुने शर्माको भनाइ छ। राजनीतिले बौद्धिकतालाई प्रयोग मात्र गर्‍यो तर उपयोग गर्न जानेन। यो नै राष्ट्रका लागि अभिशाप सिद्ध भएको छ।

बौद्धिकता र प्राज्ञिक थलोको अपमान

पछिल्लोपटक बजेट निर्माणमा, विधेयक प्रस्तुतीकरणमा र तीनै तहका सरकार सञ्चालनमा बौद्धिकता हारेको छ। प्राज्ञिक र बौद्धिक अभ्यासको थलो त्रिभुवन विश्वविद्यालयलाई थला पारिएको छ। विश्वविद्यालय मात्र होइन, स्कुल र कलेज पनि राजनीतिको चरम सिकार भएका छन्। हरेक निकाय र संस्थामा दलीयकरण बौद्धिकता हारेको प्रमाण हो। विश्वविद्यालय प्रवेश गर्न दलको आबद्धता खोज्न थालिएदेखि नै बौद्धिकताको अवशान भएको छ।

विचार यसै मर्‍यो उसै मर्‍यो। ज्ञान त्यसै पनि हार्‍यो। विश्वविद्यालय हाँक्ने उपकुलपति, रेक्टर र रजिस्ट्रार नै पार्टीगत कित्तामा नियुक्त भएपछि प्राज्ञिक थलोको गरिमाको अपेक्षा कसरी गर्ने ? प्राज्ञिक थलो राजनीतिको बिर्ता भएपछि कसरी बौद्धिकताको गरिमा रहन्छ ? राजनीतिक दाग नलागेको योग्य व्यक्तिलाई प्राज्ञिक थलो बनाउने जिम्मा दिएर विश्वास गर्न किन सकिन्न ? नेताका बारेमा हुने गरेका बहसलाई नीतिका बहसमा केन्द्रित गराउने प्रधानमन्त्री फेर्ने कुराको बहसलाई देशको मुहार फेर्न उपयोग गर्ने हो भने बौद्धिकता हार्ने छैन। बौद्धिकता जबसम्म हारिरहन्छ तबसम्म देश विकासले गति लिँदैन। परिवर्तनमा अग्रपंक्तिमा रहेको नागरिक समाज बोल्न छाडेको छ। किनकि उसलाई राजनीतिले सुन्दैन। समाज सामूहिक भावनाको विरोधी बन्दै गएको छ किनकि उसलाई राजनीतिले विभाजित गरिदिएको छ।

राजनीतिले सबैलाई एकलकाँटे बन्न सिकाइरहेको छ। अरूका भावनाको कदर गर्ने मान्यता स्खलित भइसकेको छ। अनि सरकारले भनेको जनताले मान्नुपर्छ भन्ने छ र ? त्यसैले त योग्य मान्छे पाउनै छाडिएको छ। परराष्ट्रमन्त्री नै स्विकार्छन् राजदूत बनाउने मान्छे पाइएन। योभन्दा विडम्बना के हुन सक्छ ? आज नेपालीले संसारमा पहिचान बनाएको छ। तर नेपालको पहिचान जोगाउन उसलाई राजनीतिले दिँदैन भने यस्तो राजनीतिलाई किन पछ्याइरहने ? देशको धर्म, संस्कृति र मूल्यमान्यता समाप्त पार्ने राजनीतिको विकल्प किन नखोज्ने ? फेरि एकपटक उठौं— देश निर्माणको अभियानमा नेता होइन नीतिप्रधान समाज निर्माण गरौं। नीतिमध्येमै श्रेष्ठ मानिने राजनीतिलाई सम्मानित बनाऔं।

टिप्पणी

‘क्रिटिकल थट’ बौद्धिक व्यक्तिको उपादेयता

– डा. विपिन अधिकारी

प्रायः बुद्धिजीवीभन्दा हामीले बौद्धिकता भएको मान्छे बुझ्छौं। बुद्धिलाई जीवन चलाउनेका रूपमा व्यवसायीकरण गरेपछि बुद्धिजीवी नहुन पनि सक्छ। बुद्धिजीवी भनेको निरन्तर ‘क्रिटिकल थिंकिङ’ राख्ने मान्छे हो। ऊ विवेकले बोल्छ। अध्ययन–अनुसन्धानको ठूलो दायरबाट समाजका समस्याको विश्लेषण गर्छ। यसैका आधारमा जल्दाबल्दा समस्याको समाधान दिन खोज्छ। उसका दृष्टिकोण जित्ने र हार्ने उद्देश्यले राखिएको हुँदैन।

शासन चलाउँदा जसरी ‘क्याबात’ गर्ने भन्ने उसको दृष्टिकोण हुँदैन। उसले मूल्य, मान्यता र आदर्शका कुरा अघि सार्छ। अन्याय र अत्याचारलाई खुलेर राखिदिन्छ। सार्वजनिक बहसको विषयवस्तु बनाउँछ। त्यसैले एउटा बौद्धिक व्यक्तिले राखेको दृष्टिकोणलाई समाजका विभिन्न पक्षले आधिकारिकता दिन्छन्।

विचार गर्नुस्– इमान्युयल कान्ट, सात्र्र, नोम चोम्स्की, ब्रटेन्ड रसेललाई शासक बनाएको भए कति दिन टिक्थे होलान् ? शासन चलाउन बेग्लै क्षमता चाहिन्छ। कान्टको बौद्धिकता पर सार्नुभयो भने दर्शनशास्त्रको कुनै च्याप्टर पूरा गर्न सकिँदैन। चोम्स्कीलाई बुझ्नुभएन भने वर्तमान अमेरिकी सोचको सीमितता के हो थाहा हुँदैन। अमेरिकी समाजको पर्दापछाडिका अभ्यस्त चेतना केके छन् थाहा हुँदैन।

बिहेबटुलो र नैतिकतादेखि युद्ध र शान्तिका बारेमा रसेलको धारणाले दोस्रो विश्वयुद्धताका हरेक साम्राज्यवादी र धार्मिक रुढिग्रस्त शासकलाई प्रभावित गथ्र्यो। तर विन्स्टन चर्चिलको ठाउँमा रसेललाई बेलायतको प्रधानमन्त्री बनाइदिएको भए के दोस्रो विश्वयुद्ध समाप्त हुन सक्थ्यो होला ? बुद्धिजीवीहरूले आफ्नो कित्ताबाट स्वतन्त्र बौद्धिक दृष्टिकोण राख्ने हो। शासन चलाउने होइन। फेरि बुद्धिजीवी भन्दैमा सबै राम्रो बाकसको साँचो उनीहरुसँग हुन्छ भन्नु हुँदैन। ‘क्रिटिकल थट’ बाट शासकहरू जहिल्यै पनि लाभान्वित हुनुपर्छ। तर शासन गर्न अझ गुणहरू पनि चाहिन्छ।

विज्ञ र बौद्धिकता फरक–फरक कुरा हुन सक्छन्। विज्ञ प्रायः विषयगत हुन्छ। जस्तो– कोही व्यक्ति भौतिकशास्त्र, अर्थशास्त्र, समाजशास्त्र वा नागरिक पढेको वा प्रयोग गरेका विषयसँग सीमित हुन सक्छ। तर बौद्धिकताको परिवेश ठूलो हुन्छ। उसले विविध विषयदेखि मूल्य र मान्यताका आधार पक्षहरू सबैको बारेमा अध्ययन गरेको हुन्छ। ऊ ‘डिसिपिलेन’ भन्दा बाहिर पनि हुन सक्छ।

ठूलो धरातलबाट उसले मानवीय समस्यालाई हेर्दछ। यसमा भाषा, धर्म, संस्कृति, साहित्यदेखि लिएर इतिहास, भूगोल, कूटनीति वा राजनीतिजस्ता सबै पक्षको उत्तिकै रुचि हुन्छ। बौद्धिक व्यक्तिको उपादेयता भनेको ‘क्रिटिकल थट’ हो। क्रिटिकल थट हुने व्यक्तिहरू राम्रो शासक हुन्छन् भन्ने छैन। तर राम्रा शासकले उनीहरूको चुनौती खेपेका हुन्छन्। त्यसले उनीहरूलाई योग्य शासक बन्न मद्दत गर्छ।

नेपाल बुद्धिजीवी फलेफुलेको ठाउँ होइन। अधिकांश पढेलेखेका मानिसको यहाँ करियर खोज्ने बानी देखिन्छ। यो स्वाभाविक पनि हो तर यसले क्षमतावान् मान्छेलाई शासककहाँ पुर्‍याउँछ। शासकले भक्तहरूलाई मन पराउँछ। यसकारण बौद्धिक व्यक्ति पनि झोले बन्न पुग्छन्। त्यसबाट पार्टीगत सोचाइ वा ‘पार्टीसन थिंकिङ’ को वीजारोपण हुन्छ। अवसरको खोजीमा रहेका मान्छेले ‘क्रिटिकल थट’ राख्न सक्दैन। शासकले समर्थन खोज्छ। बौद्धिक चुनौती उसलाई मन पर्दैन।

अर्कोतर्फ बौद्धिकलाई पनि लाग्छ भोको पेटले कति दिन ‘क्रिटिकल थट’ राख्ने बरु विवेकलाई खोपामा राखी हिँड्यो भने ज्ञान–विज्ञानलाई कमाउने औजारका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने मान्छेलाई लाग्छ। त्यसैले त हो नि हिजोआज हाम्रा ‘थिंक ट्यांंक’ हरू परामर्श सेवाभन्दा पर जान सकेका छैनन्। हामी सबैमा समस्या छ।

तर यिनै समस्याबीच समाधान खोज्नुपर्छ। स्कुल, कलेज र विश्वविद्यालयहरूलाई स्वायत्त संस्थाको रूपमा विकसित हुन राज्यले प्रशस्त लगानी गर्नुपर्छ। पढ्नेलेख्ने संस्कृति त्यस्ता स्कुल, कलेज र विश्वविद्यालय जस्ता शैक्षिक केन्द्रहरूबाट सार्वजनिक पार्क, सामुदायिक समारोह तथा सामाजिक एवं सांस्कृतिक अभ्यासहरूसम्म पुग्नुपर्छ। फरक विचार र दृष्टिकोण बचाउनुपर्छ। यसले विविधताको वैचारिक शुद्धीकरणलाई पनि मद्दत गर्छ। हामीकहाँ पत्याएका मान्छेहरू नभएका होइनन्।

हिजो पनि बीपी कोइराला, प्रोफेसर यदुनाथ खनाल, ऋषिकेश शाह, योगी नरहरिनाथजस्ता प्रतिभा थिए। स्वामी प्रपन्नाचार्य पनि अद्भुत बौद्धिकताका धनी थिए। तर बौद्धिक व्यक्तिहरूको निर्माण सोचेजस्तो छिटो हुँदैन। हेनेरी किसिन्जर वा अमत्र्य सेन दुवैले लामो जीवन बाँचेका छन्। उनीहरूको बौद्धिकता आज आएर संसारले झिलिमिली देख्ने गरी बुझेको छ।

हिन्दु धर्म र सभ्यताका बारेमा धेरैले बौद्धिक विश्लेषण गरेका छन्। मलाई काँढेको धर्मशास्त्रको इतिहास बेजोड लाग्छ। वास्तवमा हिन्दु दर्शनलाई कर्मकाण्डले धेरै लामो समयदेखि स्वाहा पारेको छ। भारतका रामशरण शर्मा भन्ने विद्वान् थिए, केही वर्षअघि बिते। उनले लेखेको पूर्वी सभ्यताको बौद्धिकता र यसले खेपेको चुनौतीलाई उनको अध्ययनले नवीनतम् दृष्टिकोण दियो। यसभन्दा अघि पनि सयौंले यसबारेमा लेखेका छन्। तर बौद्धिकताले पनि चुनौती खेप्दै जानुपर्छ। त्यसो भएन भने बौद्धिकतामै टेकेर हिटलर र मुसोलिनी जस्ता व्यक्ति जन्मिन पुग्छन्। उनीहरूमा बौद्धिकता नभएको भए त्यो ठाउँमा पुग्न सक्ने थिएनन्। जुन ठाउँमा उनीहरू पुग्न सके। तर बौद्धिकतामा धर्म हुन्छ। त्यो भनेको ‘क्रिटिकल थट’ हो जुन दिन त्यो हार्‍यो उनीहरू मानव सभ्यताको कलंकको रूपमा स्थापित भए। – अन्न्पुर्ण पाेस्ट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds