चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो ।
मगरको गत शुक्रबार शल्यक्रिया गरिएको थियो । डा. रविन कोइरालाको टिमले पत्थरी निकाल्ने क्रममा काटिएको आन्द्रा नजोड्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको आफन्तको आरोप छ । अप्रेसनका क्रममा काटिएको आन्द्रा त्यत्तिकै छाडेर बाहिर छाला मात्रै जोड्दा संक्रमण भएर ज्यान गएको मृतकका बैनीज्वाइँ खड्ग श्रेष्ठले बताए । घटनाबारे अस्पतालले भने कुनै प्रतिक्रिया दिएको छैन । ओम अस्पतालमा यसअघि पनि सामान्य उपचारका क्रममा बिरामीको ज्यान गएका घटना छन् । यस्ता गल्तीका कारण अस्पताल पटक–पटक विवादमा आउने गरेको छ ।
मृतकका बैनीज्वाइँ खड्ग श्रेष्ठ भन्छन्–पहिले गल्ती गर्यो, त्यसपछि लुकाउन लाग्यो, बिरामीको ज्यान जाँदासमेत गल्तीबाट उम्किन खोज्दै छ
ओम अस्पतालमा सामान्य उपचारका क्रममा बिरामीको मृत्यु भएका विगतका घटनाबारे म जानकार थिएँ । तर, दिदीको भर्ना गरेपछि मात्रै यहाँ ल्याएको बारे मलाई जानकारी भयो । त्यसैले अन्य अस्पताल लैजाने पहल गर्न सकिनँ । गत बिहीबार उहाँको स्वास्थ्य परीक्षण गर्दा पित्तथैलीमा सानो ढुंगा देखियो । डा. रविन कोइरालाको टिमले शुक्रबार अप्रेसन ग¥यो । अप्रेसनका क्रममा सानो आन्द्रा काटिएको रहेछ, तर आफन्तलाई जानकारी नै गराएनन् ।
शनिबार स्वास्थ्य गम्भीर बन्दै गएपछि चिकित्सकले पुनः खोलेर भित्र हेरे । त्यसपछि मात्रै बिरामीको डेढ मिटर आन्द्रा काटिएको जानकारी दिए । दिदीलाई आइसियूमा राखे । आइतबार फेरि शल्यक्रिया गरे । एकैचोटि बिहीबार बिहान ७ बजे मृत्युको जानकारी गराए । आन्द्रा काटिएका कारण दिशाबाट शरीरभर संक्रमण फैलिएर ज्यान गएको रहेछ । यति ठूलो गल्ती गर्दा पनि अस्पताल र चिकित्सक दोष स्विकार्न तयार छैनन् ।
#ओम अस्पताल