तारा भट्टराई
गएको शनिबार छोरी सृजनासित सम्बन्ध–विच्छेदसम्बन्धी चर्चा भयो।उनी भन्छिन्– आपसमा मिलेर बस्ने सम्भावना नभएपछि अलग्गिनु नै उत्तम हो।सन्तान हुर्केर आफ्नो बाटो लाग्ने र आपसी माया, सहारा र सहयोग आवश्यक पर्ने समयमा समयमा सम्बन्ध–विच्छेद गर्नु ठीक हो जस्तो मलाई लागेन।छोरी भन्छिन्– सन्तान नहुँदै आपसको सामीप्य एकअर्कालाई बिझ्न थालेपछि त्यहीबखत सम्बन्ध–विच्छेद गर्नु सही हो।
तर सबैलाई त्यस्तो साइत जुर्दैन।सन्तान भएपछि बालमस्तिष्कमा नराम्रो असर पर्न सक्छ, उनीहरूको भविष्य बिग्रने सम्भावना हुन्छ भन्ने चिन्ताले एकअर्काका लागि माया रित्तिए पनि सँगै बस्न बाध्य बनाइदिन्छ।तर सन्तान आफ्नै खुट्टामा उभिन योग्य भएपछि सँगै बस्नु अर्थहीन हुन्छ।यसैले जीवनको उत्तरार्धमा पनि मान्छेहरू सम्बन्ध–विच्छेद मागिन्छ र गरिन्छ ।
छोरीको भनाइ यथार्थ थियो।मेरो दिमागले पनि त्यही सत्य ठान्यो तथापि मन सहमत हुन सकिरहेको थिएन।हिजो अस्ट्रेलियाबाट छोराको फोन आयो।मैले मनको उकुसमुकुस छोरासँग पोखें।छोरो त सजिलै भन्छ– मामु, चिन्ता नगर्नुस्।सम्बन्ध–विच्छेद माइनर कुरो हो।म अक्क न बक्क नाजवाफ भएँ।उसका कुराले मेरो मन झन् विचलित भयो।त्यसपछि आफ्नो मनलाई आफैंले सम्झाएँ– यी दाजुबहिनी दुवै अविवाहित हुन्।यिनीहरूलाई बिहेपछिका जीवनबारे के थाहा ?
आज बिहान शान्त मनले छोराछोरीको भावनाको सम्मान गर्दै नयाँ ढंगले सोचें।देशमा वर्षैपिच्छे सम्बन्ध–विच्छेदको घटना दिन दुई गुना रात चौगुना बढ्दै गइरहेको सम्झें।२०७५ सालको भदौमा नयाँ मुलुकी ऐन देवानी संहिता कार्यान्वयन भएपछि मुलुकमा अहिलेसम्मकै सबभन्दा उच्च सम्बन्ध–विच्छेदको घटणा दर्ता भएको पनि सम्झें।२०७५ भदौदेखि हालसम्म देशभरिमा ४५ हजार आठ सय ५० थान मुद्दा दर्ता भइसकेका छन्।यस्तो गम्भीर विषयलाई हल्का रूपमा लिन कसरी मिल्छ ? मैले आफैंसित प्रश्न गरें ।
झण्डै एक दशकदेखि देशबाट प्रत्येक दिन हजारौंको संख्यामा रोजगारका लागि अविवाहित मात्र नभई विवाहितसमेत वैदेशिक रोजगारका लागि पलायन भइरहेको स्थिति छ।यो उनीहरूको रहर नभई बाध्यता हो।बाहिर गएपछि वर्षौंसम्म परिवारसित भेट हुँदैन।विस्तारै शरीरको भोकले मान्छेको माया ओझेलमा पर्दै जान्छ र विवाहेत्तर सम्बन्ध हुन थाल्छ।त्यसपछि चाहेर वा नचाहेर मान्छेहरू सम्बन्ध–विच्छेद गर्न बाध्य भइदिन्छ।यसमा यी जोडीको के दोष ? दया लाग्छ– तिनीहरूमाथि अनि वितृष्णा जाग्छ देशका कमजोर राज्य व्यवस्था, स्वार्थी राजनीतिक दल र भ्रष्टाचारमा लिप्त सरकारसित ।
गएको चैत १५ मा वीरगञ्जनिवासी मधुमेह तथा थाइराइड रोगविशेषज्ञ चिकित्सकको कुटाइबाट गम्भीर घाइते भएकी उनकी ४५ वर्षीया जेठी पत्नी सुनिताको उपचारका क्रममा काठमाडौंको शिक्षण अस्पतालमा निधन भयो।चिकित्सक पतिले उनलाई आइरन तताएर डाम्नुका साथै निर्घात कुटपिट गरेको माइती पक्षको आरोप छ।१७÷१८ वर्षअघि बिहे भएकी सुनिताको सन्तान नभएपछि पतिले केही वर्षअघि दोस्रो बिहे गरेका थिए।बिहेपूर्व पत्नीलाई राम्ररी पालनपोषण गर्ने लिखित प्रतिबद्धता गरे पनि दोस्रो बिहेपछि क्रूर पतिले घर छाडेर जान दबाब दिनुका साथै अनेक यातना दिन थालेको आरोप छ ।
यस्ता कैयन् केस देशमा दिनहुँ भइरहेका छन्।देशमा हजारौं सुनिताहरू बच्चा जन्माउन नसकेर, पतिको घरबाट खोजेजस्तो दाइजो ल्याउन नसकेर, परिवारको चाहनाअनुसार छोरा जन्माउन नसकेर परिवारबाट हत्या भइरहेका छन्।कत्तिले दिनहुँको यातना सहन नसकेर, घर छोडेर जाने कतै विकल्प नदेखेर मृत्युवरण गरिरहेका छन्।यस्तो परिस्थिति आउन नदिन सम्बन्ध–विच्छेदलाई एक राम्रो विकल्प मान्न सकिन्छ।तर सम्बन्ध–विच्छेदपछि ती नारीको जीवन सुरक्षित र सशक्त बनाउन माइती पक्ष, समाज र देशका एनजीओहरू अगाडि आउनुपर्छ ।
भर्खरैको कुरो हो।कामको सिलसिलामा रामेछाप जिल्लाको एउटा गाउँमा पुगेकी थिएँ।एउटी सुन्दर बालिका देखें।चुप लागेर बस्नै सकिनँ।कति कक्षामा पढ्दै छौ भनेर सोधें।नजिक बस्ने उनको आफन्तले उत्तर दिइन्– ६ कक्षामा पढ्दै गर्दा केटासित भागेकी थिई।घरमा टिक्नै सकिन।दुईतीन वर्षदेखि माइतीमै छ।विस्तारै केटीलाई सोधें– फेरि पढ्ने मन छ ? केही प्रतिक्रिया आएन।फेरि सोधें– केही इलम सिक्ने मन छ ? उनीले जवाफै दिइनन् ।
देशमा हिजोआज सानै उमेरमा भागी बिहे गर्ने समस्या क्यान्सर झैं फैलिँदै छ।गाउँघर र समाजमा पनि सानो उमेरमा बिहे गरिदिने चलन व्याप्त छ।यस्तो परिस्थितिको अन्त्य नभएसम्म घरेलु हिंसा, पतिले अर्की ल्याउने, जेठीलाई कष्ट दिने, घरबाट लखेट्ने जस्ता घटनाको न्यूनीकरण प्रायः असम्भव छ।यी समस्याको विकल्प पनि सम्बन्ध–विच्छेद नै हो।यसका लागि पनि घरपरिवार, समाज र एनजीओहरूले नै पहल गर्नुपर्ने हुन्छ ।
यी माथि उल्लिखित समस्याका लागि सम्बन्ध–विच्छेदभन्दा अर्को उत्तम विकल्प हुन सक्दैन।तर सम्बन्ध–विच्छेदका लागि दायर केसहरूका केही उदाहरण यहाँ प्रस्तुत छन् ः
१. नेपालका दुई सम्भ्रान्त परिवारका सन्तानहरूबीच विदेशमै माया बस्छ।अरू प्रेमी–प्रेमिका झैं उनीहरू पनि लिभिङ रिलेसनसिपमा बस्न थाल्छन्।दुईतीन वर्षपछि दुवै नेपाल फर्किन्छन्।दुवै पक्षका अभिभावकले राजीखुसी उनीहरूको धुमधामले बिहे गरिदिन्छन्।पार्टीको साँझ दुलाहा साथीहरू छोड्न हिँड्छन्।तर त्यो रात उनी साथीहरूसितै बस्छन्।भोलिपल्ट बिहान घर फर्कंदा उनीहरूबीचको सम्बन्ध टुटिसकेको हुन्छ।दुलहीले दुलाहाको गल्तीलाई क्षमा दिन सक्दिनन्।उनीहरूबीच सम्बन्ध–विच्छेदको केस दर्ता हुन्छ।
२. अर्को सम्पन्न परिवारको छोरो उच्च शिक्षाका लागि विदेश जान्छ।उनको उतै विदेशी केटीसँग प्रेम हुन्छ।दुवै परिवारका अभिभावक उतै गएर उतैको परम्पराअनुसार छोराछारीको बिहे गरिदिन्छन्।एक दशकभित्र अचानक दुवैको सम्बन्ध–विच्छेद भएको खबर आउँछ।तर त्यो बेलासम्म उनीहरू दुई सन्तानका अभिभावक भइसकेका हुन्छन्।हिजोआज दुवै सन्तान छुट्टिएर बसेका अभिभावकको अभिभावकत्वमा हुर्किंदै छन्।
३. एक जेहनदार युवक उच्च शिक्षाका लागि अमेरिका जाने लक्ष्यका साथ योजना बनाइरहेको हुन्छ।अचानक अभिभावकले रोजेको केटीसित बिहे गर्न युवक बाध्य हुन्छन्।बिहेको केही समयपछि परिवारसहित उनी अमेरिका उड्छिन्।समय बित्दै जान्छ।उनी प्रोफेसनल लाइफका साथै आर्थिक रूपले पनि सम्पन्न हुन्छन्।यही बीचमा दुई सन्तानसहित पूरा परिवार अमेरिकी नागरिक भइसकेका हुन्छन्।पत्नी र सन्तानहरू उतैको नागरिकसरह उतैको रहनसहन, संस्कार र संस्कृतिमा पूरा रंगिइसकेका हुन्छन् ।
एक दिन पत्नीले सम्बन्ध–विच्छेदको मुद्दा दायर गरिदिन्छिन्।अमेरिकी कानुनअनुसार आफूले कमाएको सबै सम्पत्तिको हिस्सा पत्नीलाई बाँड्नुपर्ने भो।हाम्रो देशमा माना खर्च भर्ने भने झैं उता पत्नीलाई एलिमनी पनि दिनुपर्ने भो।साथसाथ बालिग नभइसकेका सन्तानको शीक्षाका लागि पनि ठूलै धनराशि भर्नुपर्ने भो।पतिले जीवनभर परिवारको खुसीका लागि रातदिन दुःख ग¥यो।पत्नी र सन्तानलाई आनन्दले अमेरिकी जीवन जिउन दियो।अन्त्यमा आफ्नो साथमा न दुःख गरी जोडेको सम्पत्ति, न पत्नी न सन्तान ।
माथि उल्लिखित तीनवटै सम्बन्ध–विच्छेदका घटणा अध्ययन गर्दा मूल त सम्बन्ध–विच्छेदका चारवटा प्रमुख कारण भेटें मैले।पहिलो–इगो।दोस्रो– दुईजनाका बीचमा धर्म, संस्कृति, संस्कार, पारिवारिक पृष्ठभूमि, शैक्षिक स्तर र सोचमा भिन्नता।तेस्रो– महिलालाई पारिवारिक र दाम्पत्य जीवनभन्दा सुख–सुविधा, सम्पत्ति, स्वतन्त्रता र उन्मुक्त जीवनशैलीको मोह।चौथो– अरूको भावनाको कदर नगर्ने स्वभाव र सहनशीलताको कमी ।
अन्त्यमा, सबै मान्छे पूर्ण छैनन् र हुँदैनन् पनि।हरेकमा केही न केहीको कमी हुन्छ नै।यस्तो शाश्वत कुरालाई आम मान्छेले स्विकार्नुपर्छ।आफ्नो भावनामा कसैले ठेस नपु¥याओस् भन्ने चाह राख्छ भने अरूको भावनाको पनि कदर गर्ने स्वभावको विकास गर्नु जरुरी छ।जीवनमा खुसी हुनु छ भने केही हदसम्म सहनशील हुन आवश्यक छ।हाम्रो पालाको जस्तो पुरुषप्रधान समाज छैन अहिले।हाम्रा पालामा बच्चाले सुसु÷आची गरेछ भने आफू जस्तोसुकै काममा अल्झेको भए पनि दौडेर बच्चाको आची पुछ्न जानुपथ्र्यो।पतिबाट त्यस काममा सहयोगको अपेक्षा गर्न सकिन्नथ्यो।अहिले समाज बदलिइसकेको छ।अहिलेको पुस्तामा छोराछोरीको रेखदेख दुवैले मिलेर गर्छन्।मेरो घरको कुरा गर्ने हो भने मेरी नातिनी आराध्याको रेखदेख र स्याहारमा बुहारीभन्दा बढी छोरो व्यस्त देखिन्छ।बुहारीको बैंकमा जागिर छ।उनी सबैभन्दा चाँडै निस्किन्छन् र सबैभन्दा ढिला घर पुग्छिन्।पढेलेखेका र शिक्षित परिवारमा महिला–पुरुषका बीचमा समानता आउने क्रम बढ्दो छ।यसलाई तपाईंहामी सबै मिलेर सेलिब्रेट गर्नुपर्छ।
साभार ः अन्नपुर्ण पाेस्टबाट