परिचय :
सुदुरपश्चिम प्रदेश डोटी जिल्ला जोरायल गाउँपालिका वडा नं ३ मा अवस्थित ज्वालादेवी भगवतीको प्रतिविम्ब समेटिएको मन्दिर पुर्वमा उपरकोट गाउँ, पश्चिममा चनकट्टे, उत्तरमा सेयला गाउँ र दक्षिण पट्टि बरम गाउँको बिच धुरामा रहेको छ । यो मन्दिर सम्म पुग्नका लागि चनकट्टेबाट करिब आधा घण्टाको पैदल यात्रा तय गर्नु पर्दछ । गाउँपालिका भन्दाबाहिर बाट आउने महानुभावहरु जोरायलको चनकट्टे सम्म सार्वजनिक सवारीमार्फत आउन सक्छन ।
ऐतिहासिक महत्व :
जोरायलका एक जना शिक्षक भीम बहादुर मल्लका अनुसार पौराणिक कालमा हालकाे चनकट्टे, रावतकट्टे, ढणकट्टे लगायत स्थानहरु पुर्ण रुपमा जलमग्न रहेको अथवा भनौ जोरायल उपत्यका भरी पुरै जलमग्न अवस्थामा रहेको थियो । उक्त जलमग्न तलाउमा जरासन्द नामको राक्षस एक्लै पौडी खेल्थ्यो । सो भाग पुरै जरासन्द राक्षसको कब्जामा रहेको थियाे। महाभारत कालिन योद्धा पाँच पाण्डब भाइहरु सिकार खेल्ने क्रममा उपरकोटमा पुगेका र हाल ज्वालादेवी मन्दिर रहेको स्थानमा चढी जोरायल उपत्यका तिर नजर लगाउँदा पुरै उपत्यकाभर बिशाल तलाउ रहेको देखे । उक्त तलाउको पानी हल्लिएको समेत देखे पछि पानी किन हल्लिएको होला भनी बिचार गर्दा तलाउमा बिशाल दानव जरासन्द देखा परे । भीमको मनमा उक्त राक्षसको बध गरी तलाउको पानी निकास गर्न सके उपत्यकामा मानव बस्ती बसाल्न सकिने र खेतीपाती गर्न मिल्ने थियाे भन्ने ध्येय प्रकट भयो उनी जरासन्द राक्षसलाइ मार्न कसिए । तथापी उनी संगै भएका ऋषि मुनीहरुले राक्षसको बध यहि अवस्थामा सम्भव छैन उसको शक्ति भयानक छ ।
यही अवस्थामा राक्षस माथि अाक्रमण गर्दा उल्टै आफ्नो नास हुन सक्छ भनी वाणी प्रकट भएपछि हाल जलादेवी मन्दिर रहेको स्थानमा बिशाल यज्ञ गर्न अाज्ञा भयाे र साेही अनुसार यज्ञ हवन गरियाे र उक्त यज्ञ पश्चात ज्वालादेवी प्रकट भइन र भीमलाइ चनकट्टेमा रहेको शिलामा पहिलो प्रहार गर्नु उक्त प्रहार सफल भए पछि मात्र राक्षसमाथि प्रहार गर्नु भनि बर दिइन । सोही बरपाइ पाण्डब भाइ भीमले पहिलो प्रहार चनकट्टे स्थित शिलामा गरे जुन प्रहारबाट शिला बराबर दुइ टुक्रामा बिभाजन भयो जसकाे प्रमाण अहिले पनि चनकट्टेमा जीवित छ । भीमले जलमग्न तलाउको पानी निकासका लागि दोस्रो प्रहार गरे जुन हालको नक्कु भन्ने ठाउँमा पर्दछ । पानी पुरै निकास हुन थालेपछि जरासन्द राक्षस चनकट्टेतिर लम्कदै गर्दा ज्वालादेवीबाट शक्ति प्राप्त भीमको प्रहारबाट निधार काटियो । निधार काटिएको स्थानको नाम हाल चनकट्टे हुन गयो । राक्षस भाग्न खोज्दा पुन प्रहार भइ ढाड काटियो ढाड काटिएकाे स्थानको नाम ढणकट्टे रहन गयो भने हाल बग्दै गरेको कर्मनाशा नदीमा रगत बगी पुरै खोला रगतमय भएको हुँदा रगत बगेको स्थानको नाम रावतकट्टे हुन गयो भन्ने किम्बदन्ती छ । तसर्थ भयानक राक्षस जरासन्दको बध गर्न प्रकट भएकी ज्वालादेवीको ऐतिहासिक महत्व यथार्थ जस्तो देखिन्छ ।
धार्मिक महत्व :
ज्वालादेवी रहेको स्थानमा स्वच्छ एवम पवित्र मनले दर्शन गर्न गएमा मनले सोचेको पुरा हुने । अधुरा एवम अपुरा रहेका कामहरु समेत सहजै पुरा हुने धार्मिक विश्वास रहेको छ । यस मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन भव्य मेला लाग्ने गरेको छ । मन्दिरको दक्षिण पश्चिम पट्टि दक्षिणकाली रहेको छ उत्तर पुर्व पट्टि मालिका थान रहेको छ। साथै ज्वालादेवी दर्शन गरेपश्चात भुत पिचासबाट सदैब मुक्तिमिल्ने धार्मिक विश्वास रही आएको छ ।
पर्यटकिय महत्व :
मन्दिर अग्लो धुरामा रहेको हुँदा उक्त स्थानबाट जोरायलका सबै फाँटहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँको हावापानी स्वच्छ एवम स्वस्थ्य रहेको छ । एकपटक मन्दिर रहेको स्थानमा पुग्दा छुट्टै आनन्दको बहार भित्रिन्छ ।वरीपरी कलकल बग्ने नदीको सुमधुर ध्वनी अनी चारैतिर हरियाली चराचुरुङ्गीहरु लरीबरी खेल्दै गरेको देख्दा लाग्छ संसार बिचित्र एवम अनमोल छ । तर यस्तो अपरम्पार सम्पदा संरक्षणको अभावमा जेलिएको छ। संरक्षणको पर्खाइमा छ, प्रचार प्रसारको पर्खाइमा छ वा भनौ संरक्षणको बाटो कुरीरहेको छ अनि राज्यको लगानीको आशमा भौतारिरहेको छ, राज्यकाे उपस्थिति खाेजिरहेको छ ।