कञ्चनपुर । महाकाली आर्यघाटमा सरसफाइ गरिएको छ। आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ स्थित महाकाली आर्यघाटमा सरसफाइ गरिएको हो।
भीमदत्त नगरपालिकाको आयोजनामा तथा एनएनएसडब्लुए, निडस् नेपाल र इलाका प्रहरी कार्यालय गड्डाचौकीको सहकार्यमा आर्यघाटमा सरसफाइ गरिएको भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिएका छन्। पछिल्लो समयमा लास जलाउन आउँदा यहाँ प्रयोग भएका लुगाकपडा तथा पानीका बोतलहरू जथाभावी फाल्ने गरेका कारण महाकाली आर्यघाट दुर्गन्धित बन्दै गएकाले आर्यघाटमा सरसफाइ गरिएको वडा अध्यक्ष प्रकाश थापाले बताए।
उनले भने ‘निधन भएका व्यक्तिका विभिन्न सामग्री, प्लाष्टिकजन्य वस्तु, औषधीजन्य लगायतका वस्तुहरू जथाभावी फालिएको अवस्थामा भीमदत्त नगरपालिकाको आयोजनामा सरसफाइ गरेका छौँ।‘ आगामी दिनमा पनि आर्यघाटको सरसफाइका लागि वडा र नगरपालिका सक्रिय रहने उनले बताए।
जनचेतनाको कार्यक्रमहरूलाई अगाडि बढाउने उद्देश्यले आयोजना गरिएको उक्त सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, भीमदत्तका कर्मचारी, सरसफाइ कर्मी, एनएनएसडब्लुए र निडस् नेपालका प्रतिनिधि गरी ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।