कञ्चनपुर – नेकपा एकीकृत समाजवादीका नेता प्रकाश बहादुर रावलले प्रचण्ड नेतृत्वको सरकारले गरिरहेको भ्रष्टाचार विरुद्धको अभियान निरुत्साहित पार्नका लागि वर्तमान गठबन्धन बनेको बताएका छन् ।
शुक्रबार महेन्द्रनगरमा मेगा सहकारीको सहकारीको ११ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम सम्बोधन गर्दै समाजवादीका केन्द्रीय सदस्य रावलले भ्रष्टाचार विरुद्धको अभियान निरुत्साहित पार्नका लागि काँग्रेस–एमालेको गठबन्धन बनेको बताएका हुन् । पूर्व सुप प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका प्रदेश सभा सदस्य रावलले वर्तमान सरकारले भ्रष्टाचारलाई थप संस्थागत गर्नका लागि ५ वर्षे हदम्याद ल्याउन खोजेको बताए ।
रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले देशमा व्याप्त भ्रष्टाचार विरुद्धमा अभियान सञ्चालन गरिरहेका बेला काँग्रेस, एमालेले प्रचण्ड सरकार ढलाएर आफ्नो नेतृत्वमा सरकार बनाएको बताए ।
‘प्रचण्ड सरकारले गिरीबन्धु टिस्टेट, नक्कली भुटानी शरणार्थी, सहकारी काण्ड सबै प्रकृतिका भ्रष्टाचारकाण्डमा कारबाही चलाइरहेका बेला एमाले–काँग्रेसका शिर्ष तहकै नेता फस्ने भएपछि सरकार ढलाइयो, ‘उनले भने, ‘केपी ओली नेतृत्वमा बनेको सरकारबाट जनताले सुशासनको अपेक्षा पनि गरेका छैनन् ।’
काँग्रेस एमाले नक्कली भुटानी शरणार्थी, सहकारी घोटालादेखि सबै प्रकृतिका भ्रष्टाचार ढाकछोप गर्नका लागि गठबन्धन गरेर सरकार चलाइरहेको बताउँदै उनले वर्तमान गठबन्धनलाई सरकारले नजिकबाट चिनेको बताए । ‘काँग्रेसकै उपसभापति धनराज गुरुङ्ग, एमाले नेता एव लेखा समितिका सभापति सहकारी काण्डमा मुछिएका छन्, ‘उनले भने, ‘यति विषय बाहिर सार्वजनिक हुँदा समेत काँग्रेस एमाले चुपचाप बसेका छन ।’
पूर्व प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका रावलले एमाले–काँग्रेस गठबन्धनको सरकारले प्रदेशको बजेट ल्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन । सुप प्रदेश सभा सदस्य समेत रहेका रावलले सहकारी क्षेत्रको विकृतिदेखि सुधारका लागि प्रदेशमा प्रभावकारी ऐन नियम ल्याउन भूमिका खेल्ने बताएका छन ।