कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका ९ सुन्दरपुरमा वृहत सरसफाइ तथा खानेपानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। शनिबार बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आयोजना उक्त कार्यक्रम सम्पन्न भएको हो। ‘ सव्चछ वातावरण राख्ने हाम्रो जिम्मेवारी, वर्तमान र भविष्य दुइटै बराबरी’ भन्ने मूलनाराका साथ सरसफाइ तथा खानेपानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ। उक्त कार्यक्रममा सुन्दरपुर खेलकुद तथा समाज विकास समिति, जल उपभोक्ता ग्रुप ‘डी’, चौतारी समाज विकास संस्था, इन्द्रेणी कृषि सहकारी संस्था, उदयदेव माध्यमिक विद्यालय, चन्द्रदेव स्कुल, बैजनाथ धार्मिक सेवा समिति, वडा कार्यालय लगायतको सहकार्य रहेको थियो।
सरसफाइ कार्यक्रम बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समिति भवनको परिसरदेखि सुरु भएर सुन्दरपुर चोक हुँदै चौतारी टोलमा पुगेर कोण सभा भएपछि समापन गरिएको थियो। बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष पदम सिह कुँवरले संस्थाले यस्ता कार्यक्रमहरू निरन्तर गरिरहेको बताए। उनले भने हाम्रो यस संस्थाले विगतका दिनदेखि नै यस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ, र अझ पनि हामी निरन्तरता दिने छौँ।’ अध्यक्ष कुँवरले आफ्नो घर आँगन वरिपरि सफा राखौँ, वातावरणलाई प्रदुषण हुन नदियौँ र प्लास्टिक जन्य बस्तुहरूलाई उचित ठाउँमा व्यवस्थापन गरौँ भन्ने उद्देश्यका साथ सुन्दरपुरलाई सफा र सुन्दर बनाउनका निम्ति वृहत सरसफाइ तथा खानेपानी सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए। साथै उनले आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरू निरन्तर गर्ने प्रतिवद्धता समेत गरेका छन्।

बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उदयदेव माविलाई २० युनिट बराबरको पानी निशुल्क, नवदुर्गा माविलाई १५ युनिट बराबरको पानी निशुल्क, अदैत संस्थालाई १० युनिट पानी निशुल्क, र बैजनाथ धार्मिक सेवा समितिलाई निशुल्क पानी वितरण गर्नुका साथै बैजनाथ धार्मिक सेवा समितिलाई सहयोग स्वरुप ५१ हजार रकम समेत हस्तान्तरण गरको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वेदकोट नगर कार्यपालिका सदस्य पार्वती देवी विष्टले संस्थाले थालनी गरेको उक्त कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

त्यसैगरी कार्यक्रममा बोल्दै वेदकोट नगर उपप्रमुख तुलसी जोशीले बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले थालनी गरेको उक्त कार्यको प्रशंसा गर्दै संस्थालाई नगरपालिकाबाट हुने हरेक सम्भव सहयोग गर्ने प्रतिवद्धता गरिन्। वृहत सरसफाइ तथा खानेपानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी, स्थानीय लगायतको भव्य सहभागिता रहेको थियो।












Discussion about this post