कञ्चनपुर । १६ औं एनप्याब्सन खेलकुद महोत्सव सम्पन्न भएको छ। माघ ३ गतेदेखि महेन्द्रनगर स्थित कभर्ड हलमा सञ्चालन भएको खेलकुद प्रतियोगिता माघ ८ गते सोमबार सम्पन्न भएको एनप्याब्सन कञ्चनपुरका सचिव बलदेव भट्टले बताएका छन्।

समापन कार्यक्रममा एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष श्याम सिह मौनीको प्रमुख आतिथ्य रहेको थियो भने एनप्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशीको सभापतित्व रहेको थियो।

त्यसैगरी प्रतियोगिताबाट लिटिल बुद्ध एकेडेमी प्रथम, आदर्श विद्या निकेतन द्वितीय, अनिरुद्र सेकेन्डरी स्कुल तृतीय भएको छ भने मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले चौथो स्थान प्राप्त गरेको छ।

प्रतियोगिता आधारभुत तह ‘क’, आधारभुत तह ‘ख’, माध्यमिक तह ‘क’ र तह ‘ख’ गरी ४ तहमा सञ्चालन गरिएको थियो । आधारभुत तह ‘क’ बाट अनुपम एकेडेमी प्रथम, युनाइटेड पब्लिक स्कुल द्वितीय र फ्लोरिडा इन्टरनेसनल तृतीय हुन सफल भएको छ भने आधारभुत तह आधारभुत तह ‘ख’ बाट भुवनेश्वरी विद्या मन्दिर र अनिरुद्र सेकेन्डरी स्कुल प्रथम, जनज्योति सेकेन्डरी स्कुल र नवज्योति स्कुल द्वितीय, अनुपम एजुकेसनल एकेडेमी, नवप्रतिभा पब्लिक सेकेन्डरी स्कुल र किड्स इन्टरनेसनलले तृतीय स्थान हात पारेको छ।

त्यसैगरी माध्यमिक तह ‘क’ बाट अनिरुद्र सेकेन्डरी स्कुल प्रथम, लिटिल बुद्ध एकेडेमी द्वितीय र डायमन्ड इङ्गलिस मिडियम स्कुल तृतीय भएको छ भने माध्यमिक तह ‘ख’ बाट आदर्श विद्या निकेतन प्रथम, लिटिल बुद्ध एकेडेमी द्वितीय र मर्निङ ग्लोरी सेकेन्डरी स्कुल तृतीय हुन सफल भएको छ।

प्रतियोगितामा छात्रा भलिबलबाट उत्कृष्ट खेलाडी विस्डम एकेडेमीकी कृतिका भट्ट र आदर्श विद्या निकेतनकी माया भट्ट हुन सफल भएका छन् भने छात्रतर्फ बाट रोजी एक्सक्लुसिभका विजय महत र विस्डम एकेडेमीका सिवांक खडायत उत्कृष्ट खेलाडी छनौट भएका छन्।

त्यसैगरी उत्कृष्ट एथलेटिक्समा आधारभुत तह ‘क’ बाट अनुपम एकेडेमीकी सृष्टि बोहरा र अनुपम एकेडेमीकै उत्सव बिष्ट छनौट भएका छन भने आधारभुत तह ‘ख’ बाट अनिरुद्र सेकेन्डरी स्कुलकी गरिमा साउद र नवज्योति स्कुलका सुदर्शन लुहार छनौट भएका छन्।

माध्यमिक तह ‘क’ बाट डायमन्ड इंग्लिस मिडियमकी यमुना बम र मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका प्रशान्त चन्द उत्कृष्ट एथलेटिक्समा छनौट भएका छन् भने माद्यमिक तह ‘ख’ बाट आदर्श विद्या निकेतनका असिस महर र आदर्श विद्या निकेतनकै भूमिका चन्द उत्कृष्ट एथलेटिक्स हुन् सफल भएका छन्।

ज्ञानदीप विद्या मन्दिरका सागर थापा उत्कृष्ट टेबल टेनिस खेलाडी छनौट भएका छन् भने उत्कृष्ट बेटमेन्टेनका खेलाडी किड्स इन्टरनेसनलका अंकित बिष्ट हुन सफल भएका छन्।

त्यसैगरी ५ हजार मिटर दौडमा मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका राकेश बुढाऐर र रोजी एक्सक्लुसिभका नवीन रावल उत्कृष्ट छनौट भएका छन्। प्रतियिगितामा विजेता विद्यालय तथा उत्कृष्ट छनौट भएका विद्यार्थीहरूलाई सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको सचिव भट्टले बताएका छन्।

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयहरूलाई समेत सहभागिताको प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिएको छ भने प्रतियोगिता सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तहरूलाई समेत सम्मान गरिएको सचिव भट्टले जानकारी दिएका छन्।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कञ्चनपुरले आयोजना गरेको खेलकुद महोत्सवमा जिल्लाभरीबाट ५६ विद्यालयको सहभागिता रहेको थियो भने ५० विद्यालयले प्रतियोगितामा भाग लिएका थिए। खेलकुद महोत्सवमा १२८ स्वर्ण, १३५ रजत र १६० काश्य पदकका लागि खेलाडीहरूको भिडन्त भएको थियो।

एनप्याब्सन कञ्चनपुरका सचिव भट्टले खेलकुद शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताए। उनले भने ‘चार दिनसम्म चलेको खेलकुद महोत्सव शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेका छौं, साथै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने शिक्षक, खेलाडी, फिल्डमा खेलहरू सञ्चालन गराउने गुरु, व्यवस्थापन गर्ने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।’

एनप्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशीले खेलकुद महोत्सवले खेलाडी विद्यार्थीहरूको खेल यात्रा अगाडि बढाउन सहयोग गर्ने बताए। साथै अध्यक्ष जोशीले महोत्सवबाट एनप्याब्सनमा आबद्ध विद्यालयको शैक्षिक एवम् सह-क्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि श्याम सिह मौनीले विद्यार्थीको शारीरिक र मानसिक विकासका लागी खेलकुद अपरिहार्य भएको बताए।साथै उनले खेलकुद महोत्सवमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको बताएका छन्। महेन्द्रनगरस्थित खुला मञ्चमा सञ्चालन गरिएको समापन कार्यक्रमको सञ्चालन सचिव बलदेव भट्टले गरेका थिए। एनप्याब्सनमा कञ्चनपुरमा जिल्लाभर १ सय ३५ विद्यालय आवद्ध छन्।

















Discussion about this post