फेरि हुरी आयो
उडाएर लग्यो मैले समेटेका सपना
तितरबितर गरेरै छोड्यो
मैले रङ्गिन बनाएका कल्पना
कति निर्दयी छ यो समय
अनि कति दर्दनाक छ मजबुरी।
लेख्दा शब्द पनि मूल्य खोज्ने भएछ आज
सुनाउँदा यथार्थ, अर्कै बुझ्ने भएछ ईश्वर
मैले बतास माग्दा पठायो हुरी ।
अरु कुनै विकल्प नै नरहने गरि
सपनालाई सर्वस्व दिएको
प्यासको आश नै नरहने गरि
सपनाको रस पिएको
तर मरेछ सपना
मलाई जिउँदै छोडी तर मेरो अस्तित्व मारेर।
अब न उड्न आकाश छ
न जीवनको आभास दिलाउने
स्वास छ
छ त केबल पीडा
अब रङ्गहीन छ मेरो वसन्त
सुगन्धहिन छ मेरो शरद
– चाँदनी भट्ट









Discussion about this post