अब बिस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएकाले उखरमाउलो गर्मी बिस्तारै घट्ने भएको हो ।

हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनी वायु पनि भारतको केरला हुँदै उत्तरतर्फ आइरहेको छ । ‘मनसुनी वायु अहिले केरला हुँदै नर्थ इन्डिया प्रवेश गरिरहेको छ,’ उनले भने, अब केही दिनमा पुग्छ । नेपालको पूर्वी भागबाट प्रवेश गर्ने वायुले वर्षा गराउनेछ । त्यसको केही प्रभाव देखिन थालिएको छ ।’
मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उनको भनाइ छ । गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो । मकालु खबर बाट सभार









Discussion about this post