कञ्चनपुर – जुनसुकै व्यवस्था भए पनि नेतृत्वले देशको क्षमता र आफ्ना नागरिकको आकाङ्क्षालाई बुझ्न सक्ने नेतृत्व भएन भने कुनै पनि देश अघि बढ्न सक्दैन। आजको संसारका बिकसित देशका नागरिकका असल पुर्खाले आफ्ना सन्ततिलाई असल बाटो देखाए। त्यसको परिणाम स्वरुप उनीहरु प्रगतिको शिखरमा छन्। र दुनियाँका लागि दृष्टान्त भएका छन्। तर हामी र हाम्रो देश सदियौँ देखि यही अभिशापको चक्रव्यूहमा फसेका छौ। नेतृत्वले बुझ्नुपर्ने कुरा के हो भने आफ्ना सबै नागरिकका आकाङ्क्षा के हो? समाजको आवश्यकता के हो? आफ्नो कर्तव्य के हो भन्ने थाहा नपाई राष्ट्रलाई समृद्धिको पथमा डोर्याउन सकिन्न। देशमा राजनीतिक परिवर्तन धेरै पटक भयो ।
तर आर्थिक सामाजिक-आर्थिक परिवर्तन गर्न सकिएन। र नागरिकका आधारभुत आवश्यकता पुरा गर्न नसकेको मात्र होइन? सुशासन , विकास र समृद्धि को यात्रामा मुलुक लैजान सकेनन्। हिजो राणा शासन फाल्यौ, राणाको जस्तै मनोविज्ञान? पञ्चायत शासन फाल्यौ, पञ्चायतको जस्तो मनोविज्ञान? निरंकुश राजतन्त्र/राजा हटायौ तर सयौँ राजा हुने मनोविज्ञान ? हाम्रो कार्यशैली, व्यवहार र संस्कार उहीँ राणा, पञ्चायत जस्तै भयो भने के गणतन्त्र वा जुनसुकै व्यवस्था भए पनि नागरिकले के अनुभूति त्यसैले हामी सबैले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा किन नेतृत्वको राजा हुने सपना पलायो? हिजो ३० वर्षे निरंकुश पञ्चायती व्यवस्थामा सर्पको छाला काण्ड, वन फडानी काण्ड, कालो हिरोइन काण्ड , जनमत संग्रह धाँधली काण्ड, कार्पेट काण्ड, पम्फादेवी स्विस बैंकको खाता काण्ड, मुर्ति चोरी काण्ड, नमिता- सुनिता काण्ड, भुमिगत गिरोहले पर्दा पछाडिबाट थुप्रै ठुल्ठुला काण्ड पञ्चायती व्यवस्थामा घटेका घटनालाई बिर्सिने गरि अहिले जनताले ल्याएको शिशु संघीय लोकतान्त्रिक गणतन्त्रमा यो भन्दा पनि ठुल्ठुला काण्ड घटाउनु र भ्रष्टाचारले सबै तिर गाँजेको बेला नागरिकको झोपडीमा दूर दराज सम्म साँच्चिकै गणतन्त्र पुग्न सकेको छैन।
स्थानीय सरकार र प्रदेश सरकारहरूले कसरी काम गरेका छन्? कर्मचारीहरूको अवस्था कस्तो छ? जनता/नागरिकले सेवा कसरी पाइरहेका छन्? वडा तहहरू कतिको प्रभावकारी छन भन्ने बारे संघीय सरकार बेखबर छ। यसको समीक्षा गर्नु पर्छ कि पर्दैन? नेपाली समाज भ्रष्टाचार बिहीन होस भन्नका लागि सबै भन्दा पहिले राजनीतिको मुहान नै सफा गर्नु पर्छ।
२००७,२०४६,२०६२/६३ को आन्दोलन पछि नेपालमा सबै किसिमको सामन्तवादी शासन अन्त्य भएको घोषणा भयो। लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा पछि राजनीतिक क्रान्ति सदाका लागि अन्त्य भएर आर्थिक सामाजिक क्रान्तिद्वारा जनताको जीवन स्तर उकास्ने, मुलुकलाई समृद्ध बनाउने, समाजमा रहेका सबै समुदाय , वर्ग र तप्काका नागरिकलाई सामाजिक न्याय दिलाउने, भ्रष्टाचार , बेथिति , अनियमितताको समूल अन्त्य गरिने लगायतका प्रतिबद्धता नेताहरूबाट खुबै सुनियो तर सामन्ती राजलाई बिर्साउने भ्रष्टाचारका काण्ड यही लोकतान्त्रिक अवधिमा धेरै भए। कारवाही गर्ने ओठे प्रतिबद्धता सबै नेताहरूबाट सुनिए पनि सरकार नेतृत्व र राज्य सञ्चालक नै भ्रष्टाचारीको संरक्षक बनेको देखियो। ठुलो भ्रष्टाचारी उम्किदै जानुमा दण्डहीनताकै प्रमुख भूमिका छ। जसले गर्दा राज्यका तर्फबाट संस्थागत तवरले भ्रष्टाचार मौलाउन सहयोग पुर्यायो।
अपराधको राजनीतिकरण भयो, राजनीतिको अपराधिकरण भयो। त्यसैले देश अब निकट भविष्यमा ठुलो आर्थिक संकट निम्तिने देखिन्छ। यही कारणले नागरिकहरूमा व्यापक निराशा र चिन्ता छाएको छ। त्यसैले २०४६ साल देखि अहिलेसम्म सम्मका सबै नेताकार्यकर्ता र कर्मचारीको सम्पत्तिको छानबिन गर्ने र विभिन्न भ्रष्टाचार काण्डको छानबिन गरि कारवाही गर्ने काम भयो भने बल्ल नागरिकहरू राज्य प्रति आशा विश्वास र भरोसा गर्ने वातावरण सृजना हुन्छ र त्यसैले सबै नेताहरू र पार्टीहरू सच्चिन र सुध्रिनु आवश्यक छ। यदि समयमै नेताहरू र पार्टीहरू सच्चिएनन् भने संघीय लोकतान्त्रिक गणतन्त्र जोगिन सक्दैन। (लेखक चन्द वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा नेकपा एमालेका युवा नेता हुन्)









Discussion about this post