प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । हिजो आइतवार भएको मतदानमा चितवन–२ मा ७८ हजार दुई सय ७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।
आज बिहान बसेको सर्वदलीय बैठकले चितवन–२ को उपचुनावको मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको थियो । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको भूमिका विवादास्पद रहेको भन्दै उहाँलाई मतगणनामा सहभागी नगराउने निर्णय भएको छ । बिहान बसेको सर्वदलीय बैठकले मतगणनास्थलमा सम्पूर्ण सुरक्षाको जिम्मा न्यायाधीश निर्वाचन अधिकृतको कार्यालयका प्रमुख वासुदेव न्यौपानेले लिने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मतगणना स्थलमा अनुपस्थित रहने भनिएको छ । राजनीतिक दलहरूले नै मतगणना स्थलमा आफू नआए हुन्थ्यो जस्तो गरेपछि नजाने निर्णय गरेको प्रजिअ पौडेलले बताउनुभएको छ ।
बैठकमा निर्वाचन अधिकृत न्यौपानेले सुरक्षाको सबै जिम्मा आफूले लिने र त्यसमा प्रजिअले समेत सहमति जनाएको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
चितवनको भरतपुरमा रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना हुँदैछ । राधेश्याम खतिवडाले उज्यालो अनलाइनमा लेखेका छन्।









Discussion about this post