राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको हो। बैठकपछि सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्।
‘उहाँले अडिओ मेरो होइन, मैले भेटेकै छैन भन्नुभएको छ,’ उनले भने। यसअघि गत आइतबार श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई दिनका लागि पैसा चाहिने भन्दै प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण सोधेको थियो भने छानबिन गर्न समिति बनाएको थियो।
उक्त समितिले मंगलबार श्रेष्ठको बयान लिएको थियो। समितिले आफ्नो प्रतिवेदन बुझाएको थियो। श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ। रास्वपाले विन्दबासिनी कंशाकारलाई समानुपतिक सांसद बनाउने निर्णय पनि गरेको छ। उनी एसिड आक्रमण पीडित समेत हुन्। मंसिर ४ भएको चुनावमा समानुपातिकतर्फ रास्वपाका १४ सांसद निर्वाचित भएका थिए। उपहार खबर बाट सभार









Discussion about this post