त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडीका चारओटा क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । दुईओटा क्याम्पसमा भने निर्वाचन स्थगित गरिएको छ ।
सेटीगाउँ बहुमुखी क्याम्पस, श्रीकोट बहुमुखी क्याम्पस, नवप्रभात संयुक्त क्याम्पस र पुर्चौंडी बहुमुखी क्याम्पसमा निर्वाचन सम्पन्न भएको हो । विद्यार्थी संगठनहरुबीच विवाद रहेको भन्दै बैतडी शिक्षा क्याम्पस शाहीलेक र सिगास शिक्षा क्याम्पस गाँजरीमा निर्वाचन स्थगित गरिएको छ ।
निर्वाचन सम्पन्न भएका चारओटा क्याम्पस मध्ये दुई क्याम्पसको सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् भने एक÷एक ओटामा नेविसंघ र अखिल (क्रान्तिकारी)का उम्मेदवार विजयी भएका छन् ।
श्रीकोट बहुमुखी क्याम्पस खोचलेकमा अनेरास्ववियुका शम्भुराज गिरी प्यानल सहित सभापतिमा विजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त चुनाव लडेका थिए । यस्तै कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसमा अनेरास्ववियुका रेखा घटाल प्यानलसहित सभापतिमा निर्वाचित भएकी छन् । सो क्याम्पसमा पनि नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेका थिए ।
पुर्चौंडी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघकी बागमती कुमारी ऐर सभापतिमा निर्वाचित भएकी छन् । सो क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेका थिए ।
यस्तै सेटीगाउँ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका मोहन बोहरा निर्वाचित भएका छन् । सो क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले चुनावी तालमेल गरेका थिए । सगुन खबर बाट सभार