प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक गतिविधिलाई चलायमान बनाउन मेला महोत्सवको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्। बिहीबार आठौं संस्करणको तनहुँ महोत्सव २०७८ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोभिडका कारण प्रभावित व्यवसायलाई चलायमान बनाउन तनहुँ महोत्सवले सहयोग गर्ने बताए।
’कोभिड–१९ का कारण प्रभावित व्यापार व्यवसायलाई चलायमान बनाउन मेला महोत्सवले सहयोग गर्छ। आर्थिक तथा सामाजिक क्षेत्रको विकास र जगेर्ना गर्दै रोजगार सिर्जना गर्न महत्त्वपूर्ण योगदान गर्छ भन्ने विश्वास लिएको छु।’ प्रधानमन्त्री देउवाले जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल तनहुँसुर, मानुङ्कोट, ढोरबाराही ,छाव्दीबाराही, अकलादेवी मन्दिर लगायत विभिन्न जातजाति र एतिहासिक स्थलको प्रचारप्रसारमा टेवा पुग्ने बताए। स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरण तथा लुकेको प्रतिभाको उजागर गर्न महोत्सवले सहयोग पु¥याउने प्रधानमन्त्री देउवाको भनाइ थियो।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पास गर्न प्रधानमन्त्री देउवाले खेलेको भूमिकाको प्रशंसा गरे। उनले एमसीसीले देशको हितमा काम गर्ने बताउँदै गाउँमै बसुँबसुँ बनाउने अभियानमा समेत सहयोग पुग्ने बताएका थिए।
श्रम,रोजगार तथा सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गठबन्धन सरकारले लोकतन्त्र जोगाउँदै देशमा लगानीमैत्री वातावरणको सिर्जना गरेको दाबी गरे। उनले देशको आर्थिक विकासका लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए।
’तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नाराको साथ आयोजित महोत्सव आगामी २० चैतसम्म सञ्चालन हुने छ। महोत्सवको ३ लाख दर्शकले अवलोकन गर्ने र ६ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post