नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जुनसुकै अवस्थामा दुर्घटनामा जानसक्ने दाबी गरेका छन्। सिन्धुलीमा आयोजति कार्यक्रममा प्रचण्डले प्रतिक्रियावादी र विघटनकारी शक्तिबाट देश खतरामा रहेको बताए।
‘प्रतिक्रियावादीहरुले माओवादी केन्द्रको नेतृत्वलाई आक्रमण गर्ने प्रयास गरिरहेका छन्। वामपन्थी एकजुट भएर अघि नबढ्ने हो भने देश दुर्घटनामा पर्न सक्छ। सदन चल्न नदिने शक्ति छ। विघटन गर्न चाहने प्रवृत्ति अहिले पनि कायम छन्। लोकतन्त्र खारेज गर्ने शक्तिलाई सडकबाट हामीले परास्त गरेकै हो। तर रिल्याक्स गर्ने अवस्था छैन,’ उनले भने। उनले नेपालमा गणतन्त्र सम्भव छैन भन्नेहरु अहिले पनि जिउँदै रहेको बताए।
उनले आसन्न स्थानीय निर्वाचनलाई सामान्यरुपमा नलिन कार्यकर्तालाई आग्रह गरे। उनले यो चुनाव माओवादीका लागि हारजितको मात्र नभएको प्रस्ट्याए। ‘यो निर्वाचन सामान्य निर्वाचन नठान्नुहोला। यो निर्वाचन हामीले हा¥यौं भने संविधान, गणतन्त्र, जनयुद्धको उपलब्धि, शान्ति प्रक्रिया हार्ने खतरा छ,’ उनले राज खोले, ‘हामीले जित्नैपर्छ। आज हामीले संकल्प गर्नैपर्छ, रातदिन सुत्नु हुँदैन।‘ आफूहरुले रगत बगाएर ल्याएको गणतन्त्र धरापमा रहेको भन्दै यत्रो जोश आएको उनले प्रस्ट्याए। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post