युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुदको क्षेत्रमा अझै उल्लेख्य प्रगति गर्न बाँकी रहेको बताउनुभएको छ ।
आज शुक्रवार काठमाण्डौमा महिला राष्ट्रिय टोली तथा एपीएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा आधारित फिल्मको घोषणा कार्यक्रममा बोल्दै मन्त्री गहतराजले यस्तो बताउनुभएको हो । उहाँले खेलकुदको क्षेत्रमा नेपालले साना हिमालहरू मात्र चढेको र ओलम्पिक खेलेर सगरमाथा चढ्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पहाडहरू मात्रै चढेका छौँ । हामीले साना–साना हिमालहरू मात्रै चढेका छौँ, खेल क्षेत्रको हिसाबले सगरमाथा चढ्न बाँकी नै छ । त्यो भनेको ओलम्पिकमा हामी पुग्न र ओलम्पिकमार्फत विश्वलाई चिनाउन बाँकी नै छ ।’
मन्त्री गहतराजले यस फिल्मले नेपालका खेलाडीहरूलाई प्रेरणा दिने भन्दै उहाँले यस फिल्मले नेपाली चलचित्र क्षेत्रमा पनि नयाँ सुरुवात भएको बताउनुभयो ।
अञ्जिलाले फिल्ममा आफ्नो भूमिका आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहनेछ । अञ्जिलाले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइनेछ । उज्यालो अनलाइन बाट सभार









Discussion about this post