ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने घोषणा गर्नुभएको छ । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ देशको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने लक्ष्य लिएको बताउनुभयो ।
आज शुक्रवारदेखि काठमाण्डौमा सुरु भएको नेपाल हस्तकला महासङ्घको ४१ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले भन्नुभयो, ‘कृषिमा आत्मनिर्भर बन्नका लागि गएको मङ्सिर १ गतेदेखि सिँचाइमा खपत हुने बिजुलीको मूल्य ५० प्रतिशतले घटाएको छु । मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउने रहेको छ ।’
कार्यक्रममा मन्त्री भुसालले नेपालमा उत्पादित हुने वस्तुहरू आयात नगर्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरू आयात गर्ने काम व्यवसायीहरूले गर्न नहुने धारणा राख्नु भयो । उद्योगीहरूले देशको अर्थतन्त्रलाई टेवा पु¥याउने खालका वस्तुहरूको उत्पादन र बिक्रीमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजारको मागअनुसार हस्तकला सामग्रीहरूको बिक्री गर्न उद्योगीहरूलाई आग्रह गर्नुभयो । उहाँले हस्तकलाका सामग्रीको प्रवर्द्धनका लागि औद्योगिक ग्राम बनाउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकलाका सामग्रीहरूको उत्पादन र विश्व बजारमा निर्यातका लागि सहयोग गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित क्षेत्रका उद्योगीहरूलाई आग्रह गर्नुभयो । उहाँले कोभिडका कारण हस्तकला क्षेत्रका व्यवसायीहरू पलायन हुने अवस्था आएको उल्लेख गर्दै उनीहरूलाई रोक्न आफूले सक्दो पहल गर्ने पनि बताउनुभयो ।
मेयर महर्जनले भूकम्पले ध्वस्त बनाएका सम्पदाहरूको पुनर्निर्माणको कामलाई आफूहरूले स्थानीयवासीकै सहकार्यमा अघि बढाएको पनि स्मरण गराउनुभयो । उज्यालो अनलाइन बाट सभार









Discussion about this post