नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरमात्र चुनाव जित्न नसकिने बताएका छन्।
माओवादी केन्द्रको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति र प्रवास समन्वय समितिको बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले गठबन्धनको आश गरेर चुनाव जित्ने सोंच नराख्न पार्टीपंक्तिलाई आग्रह गरेका हुन्।
प्रचण्डले भने, ‘गठबन्धनको आश गरेर चुनाव जितौला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस्। आफ्नै खुट्टामा, आफ्नै तागतको बलमा चुनाव जित्छौं भन्ने आत्मविश्वासको साथ हामी अगाडि बढ्नुपर्छ।’
एमसीसीका कारण माओवादीलाई सिध्याउन खोजेको उनले आरोप लगाए। ‘एमसीसीले पार्टी फुट्ने भन्दै खुसी भएका थिए। तर, हामी सँगै कार्यक्रममा हिडिरहेका छौं। त्यसैले अहिले दिमागबाट गठबन्धन हटाइदिनुस्, बरु जनतामाझ जाउँ, घाइते, वेपत्ता, शहीद परिवारमा जाऔं। अबको दुई महिना हरेक दिन जनतामाझ जाने संकल्प गरौं,’ उनले भने।
अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीको कार्यशैलीका कारण नेकपाको एकता टिक्न नसकेको आरोप लगाए। उनले भने, ‘ओलीले नायक हुने अवसर गुमाए। प्रतिक्रान्ति गरेर एकीकृत हुँदै गरेको कम्युनिस्ट आन्दोलनमा विभाजन ल्याएर खलनायक भए।’
सबैभन्दा पहिला आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्ने माओवादी नीति भएको उनको भनाइ थियो। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post