काठमाडौं । देशका विभिन्न क्षेत्रमा मौसममा आंशिक बदली देखिएको छ। आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेकका अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ। बिहानको समयमा तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
त्यसैगरी, भोलि बिहान उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
बिहानको समयमा हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।










Discussion about this post