काठमाडौं । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि विश्वभर सुरु भएको छ। नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरिएको हो।
महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि कानुनी व्यवस्था, पीडितलाई न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ।
संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। प्रतिवेदनले विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिका यस्तो हिंसाबाट मारिने गरेको तथ्य उजागर गरेको छ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म १६ दिन यो अभियान सञ्चालन गरिन्छ। यस वर्ष नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ अभियान अघि बढाइएको छ।
नेपालमा पनि सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम, अन्तरक्रिया, सचेतनामूलक र्याली तथा अभियान सञ्चालन गरी यो दिवस मनाउँदै आएका छन्।
सन् १९८० को दशकदेखि विभिन्न देशमा महिलामाथि हुने हिंसाविरुद्ध दिवस मनाउन थालिएको थियो। सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको हो। नेपालमा सन् १९९७ देखि यो दिवस विभिन्न कार्यक्रम गरी मनाउन थालिएको हो।
नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य, समानता, सामाजिक न्याय तथा समावेशी सहभागितामूलक समाज निर्माणलाई प्राथमिकतामा राखेको छ। महिलाविरुद्ध हुने भेदभाव, हिंसा र शोषणलाई कानुनले दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ।
१६ दिने अभियानले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न परिवार, समाज, राज्य र सम्बन्धित सबै निकायलाई जिम्मेवार बनाउन तथा पीडितलाई न्याय र संरक्षण सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।










Discussion about this post