काठमाडौं । साइबर तथा डिजिटल वित्तीय ठगीमा परेमा तत्काल उजुरी गर्न नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले यस्ता घटनाको उजुरी तथा गुनासो सम्बोधनका लागि १२४७ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो।
राष्ट्र बैंकका अनुसार प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोमा विभिन्न सरोकारवाला निकायको सहभागितामा २४ सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ।
उक्त केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी दिन र उजुरी दर्ता गर्न सकिनेछ।
राष्ट्र बैंकले कुनै पनि प्रकारको डिजिटल ठगीमा परेमा ढिलाइ नगरी तत्काल उक्त नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन पनि अनुरोध गरेको छ।
त्यसैगरी, ठगीमा परेका व्यक्तिले आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई समेत तत्काल जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। यसबाट बैंक खाता तथा डिजिटल वालेटमा हुन सक्ने थप जोखिम न्यूनीकरण गर्न आवश्यक कदम चाल्न सकिनेछ।










Discussion about this post