काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
काठमाडौंमा सञ्चारमाध्यमका सम्पादकहरूसँग भएको छलफलमा राजदूत झाङले नेपाल चीनको घनिष्ठ छिमेकी तथा प्राथमिकतामा रहेको मुलुक भएको बताउनुभयो।
उहाँले स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, उद्योग, व्यापार र ऊर्जा क्षेत्रको विकासमा चीनले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले विपद्का समयमा उद्धार, राहत, पुनःस्थापना, पुनर्निर्माण तथा मानवीय सहयोगमा चीनले नेपालसँग सहकार्य गरेको स्मरण गर्नुभयो।
राजदूत झाङले तातोपानी नाका आगामी हप्तादेखि अस्थायी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। भौगोलिक कठिनाइका कारण नाका नियमित सञ्चालन गर्न चुनौती रहेको उल्लेख गर्दै वैकल्पिक व्यवस्था नहुँदासम्म हप्तामा एकदेखि दुई दिन सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।
त्यस्तै, कोरला नाका जोड्ने सडकखण्डअन्तर्गत जोमसोमसम्म कालोपत्र तथा स्तरोन्नतिको काम भइरहेको उहाँले जानकारी दिनुभयो। रसुवागढी नाका पुनः सञ्चालनका लागि नेपाल सरकारबाट औपचारिक प्रस्ताव प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाउने चीनको तयारी रहेको उहाँको भनाइ छ।
नेपालमा राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने दिशामा सरकारले काम गर्नु विकास र समृद्धिका लागि सकारात्मक पक्ष भएको राजदूत झाङले बताउनुभयो। उहाँले स्पष्ट कार्ययोजना र असल नियतका साथ जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन सरकार, राजनीतिक दल तथा जनस्तरमा आपसी सम्बन्ध र सहकार्य विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।










Discussion about this post