कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसी महेन्द्रनगरस्थित सहयात्री बहुमुखी सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
२०६५ फागुन १ गते स्थापना भएको सहकारीले आइतबार आफ्नै भवनमा एक कार्यक्रम आयोजना गरी साधारण सभा सम्पन्न गरेको हो।
सभामा संस्थाका अध्यक्ष दुर्गाप्रसाद अवस्थीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारी स्थापना भएदेखि नै पारदर्शी रूपमा सञ्चालन हुँदै आएको बताए। उनले संस्थाको वृद्धि तथा विकासका लागि सम्बन्धित सरोकारवाला निकायबाट सहयोगको अपेक्षा रहेको उल्लेख गरे।
अध्यक्ष अवस्थीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहकारीले पछिल्लो एक वर्षमा २३९ जना नयाँ शेयर सदस्य थप गरेको छ। यससँगै संस्थाका कुल शेयर सदस्यको सङ्ख्या १ हजार ३४९ पुगेको छ।
सहकारीको कुल शेयर पुँजी १ करोड ७३ लाख ९३ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, २ करोड १८ लाख ५८ हजार ६८० रुपैयाँ बचत सङ्कलन भएको छ भने ५ करोड ३७ लाख ८९ हजार ७८५ रुपैयाँ ऋण लगानी गरिएको छ। संस्थाले कर कट्टीपछि ११ लाख ५४ हजार ९५० रुपैयाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ। सहकारीको कुल दायित्व ६ करोड ७१ लाख ४९ हजार ९८ रुपैयाँ रहेको छ।
प्रतिवेदनमा ऋण असुली तथा सहकारी क्षेत्रका बदलिँदा कानुनी र नियामकीय व्यवस्थालाई चुनौतीका रूपमा औँल्याइएको छ। सदस्यहरूको बचत सुरक्षित गर्ने, उत्पादनशील तथा सुरक्षित क्षेत्रमा ऋण लगानी गर्ने, संस्थामा सीसीटीभी क्यामेरा जडान गर्ने, सदस्यता विस्तार गर्ने तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ।
साधारण सभाले ११ बुँदे प्रस्ताव पारित गरेको छ। जसअन्तर्गत वार्षिक प्रगति प्रतिवेदन, लेखा प्रतिवेदन, नाफा बाँडफाँड, भवन निर्माण, बचत तथा ब्याजदरमा हेरफेर, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम स्वीकृत गरिएको छ।
कार्यक्रममा लेखा संयोजक आनन्दराज घिमिरेले संस्थाको आर्थिक कारोबारलाई पारदर्शी, व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
सहकारीका शेयर सदस्य तथा युवा सल्लाहकार विष्णुदत्त जोशीले राष्ट्रिय स्तरमै सहकारी क्षेत्रमा संकट देखिएका बेला पनि सहयात्रीले सदस्य र कर्मचारीबीचको विश्वासका कारण आफ्नो यात्रा निरन्तर अघि बढाउन सफल भएको बताए। उनले संस्थाको प्रगतिमा आपसी विश्वास र सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे।
त्यस्तै, वरिष्ठ समाजसेवी विनोदसिंह विष्ट, सल्लाहकार शंकरबहादुर चन्द र पूर्वअध्यक्ष तथा सल्लाहकार नरबहादुर साउदले सहकारीले समुदायको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिए।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बहादुरसिंह थापाले सहयात्री सहकारीले समुदायको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै संस्थाको प्रगतिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
साधारण सभाका अवसरमा उत्कृष्ट संस्थापक कर्मचारी पवित्रा चन्द, ज्येष्ठ नागरिक विष्णुसिंह साउद र पार्वतीदेवी जोशी, असल बचतकर्ता कृष्ण साउद र नारायणी विष्ट, असल ऋणी तर्कराज भट्ट र पूजा कुमार ऐर तथा सहयोगी युवा व्यवसायी कमलप्रसाद जोशीलाई सम्मान गरिएको थियो। साथै, टोलस्तरीय क्रिकेट प्रतियोगितामा सहभागी टोलीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
सहकारीका उपाध्यक्ष सरस्वती भाट (धामी) ले सञ्चालन गरेको कार्यक्रममा शेयर सदस्य, सल्लाहकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।










Discussion about this post