बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ। सोमबार बिहान भएको दुर्घटनामा अन्य यात्रुहरू पनि सवार रहेको आशङ्का गरिएको छ।
प्रहरीका अनुसार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। अनियन्त्रित अटो सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको बताइएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० निवासी राजमति महरा, तारा महरा र डल्ली महरा रहेका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसैगरी इलाका प्रहरी कार्यालय बुङ्गलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा थप चार सदस्यीय टोली परिचालन गरिएको थियो।
थप खोजी तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा सात सदस्यीय टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले घटनास्थलको बीच भिरमा तीन महिलाको शव फेला पारेको छ। अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा अन्य व्यक्ति पनि परेको हुन सक्ने आशङ्कामा अटो तथा अन्य यात्रुको खोजी र उद्धार कार्य जारी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।










Discussion about this post