काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताएका छन्।
सोमबार जनकपुरधाममा सांसद डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्ने बताए।
लामिछानेले नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्न पार्टीले नीतिगत काम अघि बढाउने उल्लेख गरे। काम गर्ने क्रममा कमजोरी भए सच्याउँदै अघि बढ्ने उनको भनाइ छ।
उनले संघीय संरचनाअन्तर्गत प्रदेश सरकारलाई प्रभावकारी बनाउने र स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउने विषयमा राष्ट्रिय बहस आवश्यक रहेको बताए।
प्रदेश संरचनाको सुधार र पुनरावलोकनबारे अन्य राजनीतिक दल तथा शक्तिसँग संवाद र सहकार्य गर्दै सहमतिका आधारमा अघि बढ्ने पनि लामिछानेले बताएका छन्।










Discussion about this post