धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स लगातार तेस्रोपटक फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। लगातार दुई सिजन उपविजेतामा सीमित भएको सुदूरपश्चिमले यसपटक क्वालिफायर–वानमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणका खेल सकिएसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ। अंकतालिकामा दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले मंगलबार हुने क्वालिफायर–वानमा शीर्ष स्थानको लुम्बिनीसँग खेल्नेछ। यस खेलको विजेता सोझै फाइनलमा पुग्नेछ भने पराजित टोलीले क्वालिफायर–टु मार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
सुदूरपश्चिम एनपीएलका तीनवटै संस्करणमा प्लेअफ पुग्ने एक्लो टोली हो। यसअघिका दुवै सिजन लिग चरणमा शीर्ष स्थान हासिल गर्दै क्वालिफायर–वान खेलेको सुदूरपश्चिम दुवैपटक फाइनल पुगे पनि उपाधि जित्न असफल भएको थियो।
पहिलो संस्करणमा क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै फाइनल पुगेको सुदूरपश्चिम दोस्रो संस्करणमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै उपाधि भिडन्तमा पुगेको थियो। तर, दुवैपटक फाइनलमा पराजित भएपछि उपाधि जित्ने सपना अधुरै रह्यो।
यसपटक भने सुदूरपश्चिमले लिग चरणमा दोस्रो स्थान हासिल गरेको छ। क्वालिफायर–वानमा स्थान बनाउन टोली काठमाडौं गोर्खाजको अन्तिम खेलको नतिजामा समेत निर्भर रहनुपरेको थियो। काठमाडौं पराजित भएपछि सुदूरपश्चिमले इलिमिनेटर खेल्नुपर्ने अवस्था टरेको थियो।
यता साविक विजेता लुम्बिनी लायन्सले लिग चरणमा पाँच खेल जित्दै ११ अङ्कसहित शीर्ष स्थान हासिल गरेको छ। लुम्बिनीले एनपीएल इतिहासमा पहिलोपटक क्वालिफायर–वान खेल्न लागेको हो।
लगातार दुईपटक फाइनलमा पुगेर पनि उपाधिविहीन बनेको सुदूरपश्चिम यसपटक त्यो इतिहास बदल्दै पहिलो एनपीएल उपाधि जित्ने लक्ष्यमा छ।










Discussion about this post