काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जोड्ने सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारले सार्वजनिक यातायात सञ्चालनमा कडाइ गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै उक्त सडकखण्डमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको हो। नयाँ व्यवस्थाअनुसार यस सडकखण्डमा सञ्चालन हुने सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्नेछ। त्यस्तै, बिहान ५ बजेपछि मात्र बल्खुबाट सवारी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।
प्रशासनले यात्रुवाहक तथा भाडाका सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, प्रहरीले प्रत्येक यात्रुवाहक तथा भाडाका सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।
साँघुरा सडक, भिरालो तथा घुम्तीहरू, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरबाही, तीव्र गति र रातिको समयमा सडकमा पर्याप्त उज्यालो नहुँदा दुर्घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ।
यस सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदीमा बिहीबार माइक्रोबस सडकबाट खस्दा १४ जनाको ज्यान गएको थियो। उक्त दुर्घटनापछि सार्वजनिक यातायात सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले नयाँ नियम लागू गरेको हो।
सूचनामा तीव्र प्रतिस्पर्धाका कारण चालकले एकै दिनमा पटक–पटक यात्रा गर्नुपर्ने अवस्था, अत्यधिक थकान र अनिद्राले पनि गम्भीर प्रकृतिका दुर्घटना दोहोरिने गरेको उल्लेख छ। यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै दुर्घटना न्यूनीकरणका लागि नयाँ व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।











Discussion about this post