काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज शनिबार लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ।
साविक विजेता लुम्बिनी लायन्स यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। तर विराटनगर किंग्सका लागि भने आजको खेल प्लेअफ यात्राका दृष्टिले निर्णायक बनेको छ। विराटनगरलाई प्लेअफको सम्भावना कायम राख्न लुम्बिनीविरुद्ध जित निकाल्नैपर्ने दबाब छ।
अंकतालिकामा लुम्बिनी लायन्स ६ खेलबाट ४ जित, १ हार र १ खेलमा अंक बाँड्दै ९ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै, विराटनगर किंग्स ६ खेलबाट ३ जित र ३ हारसहित ६ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ।
यस संस्करणमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन्। बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ।
हाल अंकतालिकामा सुदूरपश्चिम रोयल्स १० अंकसहित पहिलो, लुम्बिनी लायन्स ९ अंकसहित दोस्रो, काठमाडौं गोर्खाज ८ अंकसहित तेस्रो र चितवन राइनोज ७ अंकसहित चौथो स्थानमा छन्।
काठमाडौं गोर्खाज र चितवन राइनोजको एक–एक खेल बाँकी रहँदा विराटनगर र लुम्बिनीबीचको आजको खेल दुवै टोलीको लिग चरणको अन्तिम खेल हुनेछ।
यदि आजको खेलमा विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ। त्यस अवस्थामा सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुग्नेछन्।
तर विराटनगरले जित निकालेमा प्लेअफको समीकरण थप रोचक बन्नेछ। त्यसपछि काठमाडौं गोर्खाज र चितवन राइनोजको बाँकी खेलको नतिजाले प्लेअफ पुग्ने टोलीको टुङ्गो लगाउनेछ।
लुम्बिनी लायन्स पनि विराटनगरलाई हराउँदै शीर्ष दुईमा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा हुनेछ। अर्कोतर्फ विराटनगर जित निकाल्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ।
कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेका छन्।










Discussion about this post