काठमाडौं — ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। लगातार दुई खेलमा पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा मैदान उत्रनेछ।
समूह ‘ए’ मा रहेको नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे अल अमेरातमा सुरु हुनेछ।
नेपालले यसअघि पहिलो खेलमा भारतसँग १० विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईसँग सात विकेटले पराजित भएको थियो। भारतविरुद्ध नेपालले ४३ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो। उक्त लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई १९ ओभर १ बलमै पूरा गरेको थियो।
त्यस्तै, यूएईविरुद्ध नेपालले ४१ ओभरमा १५३ रन बनाएको थियो। १५४ रनको लक्ष्य यूएईले ३४ ओभर ४ बलमा तीन विकेट गुमाएर पूरा गरेको थियो।
यता पाकिस्तान भने प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ। पाकिस्तानले पहिलो खेलमा यूएईलाई नौ विकेटले तथा दोस्रो खेलमा भारतलाई तीन विकेटले पराजित गरेको थियो।
यसैबीच, पाकिस्तानसँगको खेलपछि नेपाली टोली स्वदेश फर्कने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार नेपाली टोली भोलि दिउँसो साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।










Discussion about this post