काठमाडौं — नेपाल संवत् ११४७ आजदेखि सुरु भएको छ। नयाँ वर्षको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्ष मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ।
नेपाल संवत्को नयाँ वर्ष काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका क्षेत्रमा विशेष रूपमा मनाइन्छ।
यसै अवसरमा नेवार समुदायले म्हः पूजा पनि गर्दैछन्। आफ्नो आत्मा र शरीरको सम्मान गर्दै पूजा गर्ने यस परम्पराले आत्मशुद्धि, आत्मसम्मान र सकारात्मक सोचको सन्देश दिने धर्मशास्त्रविद्हरूको भनाइ छ।
नेपाल संवत्को नयाँ वर्षले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।










Discussion about this post