महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) ले स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ। विद्यालयले आगामी पुस १५ गते विशेष कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउने तयारी गरेको हो।
विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवका कार्यक्रमबारे जानकारी दिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टका अनुसार महोत्सवका अवसरमा ५० लाख रुपैयाँको अक्षयकोष स्थापना, वृक्षारोपण, रक्तदान तथा २४ घण्टा सञ्चालन हुने ई–लाइब्रेरी स्थापना गरिनेछ।
महोत्सवका अवसरमा प्रदेशस्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगिता पनि आयोजना हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख २५ हजार ५२५ रुपैयाँ, दोस्रो हुनेले ७५ हजार ५२५ रुपैयाँ र तेस्रो हुनेले २५ हजार ५२५ रुपैयाँसहित मेडल प्राप्त गर्नेछन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी, खाद्य प्रदर्शनी, स्वर्ण स्तम्भ निर्माण तथा अनावरण, तीनदिने योग शिविर र विद्यालयको इतिहास समेटिएको विशेषाङ्क प्रकाशन गरिनेछ।
विद्यालयमा योगदान पुर्याउने सङ्घसंस्था, पूर्व तथा वर्तमान शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, व्यापारी, बुद्धिजीवी, समाजसेवी तथा पत्रकारलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको अध्यक्ष विष्टले जानकारी दिनुभयो।
महोत्सवका अवसरमा बाजागाजा र झाँकीसहित बजार परिक्रमा पनि गरिनेछ। हाल विद्यालयमा तीन हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
अध्यक्ष विष्टले २४ घण्टा सञ्चालन हुने ई–लाइब्रेरी देशभरका विद्यालयमध्ये पहिलो हुने दाबी गर्नुभएको छ। पत्रकार सम्मेलनको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक सरस्वती भाट धामीले गर्नुभएको थियो।










Discussion about this post