काठमाडौँ । युरोपका विभिन्न देशमा उडान भरेका सात यात्रुवाहक विमानमा बम राखिएको आशंकासहित धम्की आएपछि सुरक्षा जाँच गरिएको छ ।
आयरल्यान्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट इटालीको रोम पुगेका दुई विमानमा बम राखिएको सूचना आएपछि खोजी गरिएको थियो । डब्लिनबाट आएको विमानलाई अवतरण नहुँदासम्म इटालीको वायुसेनाले सुरक्षा दिएको थियो । तर, दुवै विमानमा विस्फोटक पदार्थ फेला परेनन् ।
त्यस्तै, पोल्यान्ड, स्पेन र बुल्गेरियामा पनि विमानहरूको सुरक्षा जाँच गरिएको थियो । बेलायतको म्यानचेस्टरबाट स्पेनको मर्सिया पुगेको विमानमा बमको सूचना आएपछि यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।
यस्तै, लन्डनबाट पोल्यान्डको वार्सा जाँदै गरेको विमानलाई निर्धारित विमानस्थलमा अवतरण गर्न नदिई अर्को विमानस्थलमा अवतरण गराइएको थियो ।
यी घटनाबीच कुनै सम्बन्ध पुष्टि भएको छैन । सम्बन्धित देशका अधिकारीहरूले घटना योजनाबद्ध रूपमा गराइएको हो वा होइन भन्नेबारे अनुसन्धान गर्ने जनाएका छन् ।
उड्डयन सुरक्षा विज्ञहरूले विभिन्न विमानमा एकैपटक बमको धम्की आउनुलाई असामान्य घटनाका रूपमा लिएका छन् ।










Discussion about this post