महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ निवासी पूर्णबहादुर सिनालका स्वर्गीय नाती २० वर्षीय सशान्त सिनालको जन्मदिनको अवसरमा अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहयोग सामग्री वितरण गरिएको छ।
सशान्तको जन्मदिनको अवसर पारेर समाज कल्याण अञ्चल बाल अनाथालयमा आश्रित १३ जना बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल वितरण गरिएको हो। त्यसैगरी, वेदकोट नगरपालिका–७ स्थित बैजनाथ धाम तथा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाना तथा फलफूल सहयोग गरिएको छ।
२० वर्षीय सशान्त सिनालको गत कार्तिक १० गते असामयिक निधन भएको थियो। कार्तिक १६ गते परेको उनको जन्मदिनलाई परिवारले सामाजिक सेवासँग जोड्दै स्मृतिमा सहयोग कार्यक्रम आयोजना गरेको हो। हजुरबुवा पूर्णबहादुर सिनालका अनुसार सशान्तको सम्झनालाई जीवन्त राख्न परिवारले यस्तो मानवीय कार्य गरेको हो।

सशान्तको इच्छाअनुसार नै जन्मदिनको अवसरमा अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहयोग गरिएको उनका फुपाजु सन्तोषबहादुर सुनामले जानकारी दिनुभयो।
समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष कृष्णानन्द जोशीले स्वर्गीय सशान्तको जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल सहयोग गर्नु सराहनीय कार्य भएको बताउनुभयो। उहाँले जन्मदिनलाई उत्सवमा मात्र सीमित नराखी असहाय तथा अनाथ बालबालिकाको सहयोगमा समर्पित गर्नुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।
त्यसैगरी, बैजनाथ धाम तथा वृद्धाश्रमका सञ्चालक बहादुर सिंह विष्टले ज्येष्ठ नागरिकलाई खाना तथा फलफूल सहयोग गर्नु मानवीय सेवाको उदाहरण भएको बताउनुभयो। उहाँले यस्ता कार्यले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खुसी प्रदान गर्नुका साथै अरूलाई पनि सामाजिक सेवामा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

जन्मदिनमा गरिने खुसीयालीलाई सामाजिक सेवासँग जोड्दै परिवारले गरेको यस प्रयासले दिवंगत सशान्तप्रति श्रद्धा व्यक्त गर्नुका साथै अनाथ बालबालिका र ज्येष्ठ नागरिकको मुहारमा खुसी ल्याएको छ। दुःखद् सम्झनालाई सेवाभावमा रूपान्तरण गर्दै गरिएको यस कार्यले समाजमा मानवता, करुणा र परोपकारको सकारात्मक सन्देश दिएको छ।








Discussion about this post