हरिश्चन्द्र बाग, कञ्चनपुर । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै व्यवसाय तथा स्थानीय उत्पादनको प्रचारप्रसार र बजारीकरणलाई सहज बनाउने उद्देश्यले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले २५ जना युवालाई डिजिटल मार्केटिङसम्बन्धी सीप प्रदान गरेको छ।
युवालाई प्रविधिमैत्री बनाउँदै स्वरोजगार, उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यसहित गाउँपालिकाले सञ्चालन गरेको १५ दिने निःशुल्क डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको हो। तालिममा सहभागी युवाहरूले डिजिटल बजारको सम्भावना पहिचान, सामाजिक सञ्जालको प्रयोग, व्यवसायको प्रचारप्रसार तथा स्थानीय उत्पादनको बजारीकरणसम्बन्धी ज्ञान र सीप हासिल गरेका छन्।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत काठमाडौं स्कुल अफ इन्टरनेट मार्केटिङ प्रालिको सहकार्यमा असोज २५ गतेदेखि कात्तिक १५ गतेसम्म तालिम सञ्चालन गरिएको थियो। आइतबार आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले युवाको सीप तथा क्षमता अभिवृद्धिका लागि गरिएको लगानीले भविष्यमा सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो। प्रविधिको तीव्र विकाससँगै रोजगारी र व्यवसायका स्वरूप परिवर्तन भइरहेकाले युवाहरूले समयअनुसार नयाँ सीप सिकेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
डिजिटल मार्केटिङको माध्यमबाट स्थानीय उत्पादन, व्यापार तथा व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष रानाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। प्रमाणपत्रमा मात्र सीमित नराखी सिकेको सीप प्रयोग गरेर आफ्नै व्यवसाय सञ्चालन गर्न र अरूलाई समेत रोजगारी दिने दिशामा अघि बढ्न उहाँले सुझाव दिनुभयो।
गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बेलडाँडीमा कृषि, पर्यटन, स्थानीय उत्पादन तथा साना व्यवसायका प्रशस्त सम्भावना रहेको बताउनुभयो। ती सम्भावनालाई डिजिटल माध्यमबाट प्रचारप्रसार र बजारीकरण गर्न सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ थियो। युवालाई दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा व्यावहारिक तालिमलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण बि.क.ले डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा डिजिटल मार्केटिङको महत्त्व र आवश्यकता पनि बढिरहेको बताउनुभयो। तालिमबाट प्राप्त सीपलाई व्यावसायिक क्षेत्रमा प्रयोग गर्न सके युवाहरूले रोजगारी तथा स्वरोजगारका नयाँ अवसर सिर्जना गर्न सक्ने उहाँको विश्वास थियो।
तालिममा सहजीकरण गरेको काठमाडौं स्कुल अफ इन्टरनेट मार्केटिङ प्रालिकी प्रबन्ध निर्देशक मेनुका भट्टले तालिम सम्पन्न भएपछि पनि आवश्यकताअनुसार प्रशिक्षार्थीहरूलाई प्राविधिक तथा व्यावहारिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिममा सहभागी युवाहरूले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आफ्नै व्यवसाय सञ्चालन गर्नुका साथै स्थानीय उत्पादनको डिजिटल माध्यमबाट प्रचारप्रसार तथा बजारीकरण गरी आयआर्जनसँग सीपलाई जोड्ने लक्ष्य राखेका छन्।
डिजिटल बजारको विस्तारसँगै साना व्यवसायी तथा स्थानीय उत्पादकका लागि आफ्ना उत्पादन र सेवा धेरै मानिससम्म पुर्याउने अवसर बढ्दै गएको छ। यस्तो अवस्थामा स्थानीय स्तरमै डिजिटल मार्केटिङसम्बन्धी सीप भएका जनशक्ति उत्पादन गर्ने गाउँपालिकाको प्रयासले युवाको उद्यमशीलता विकास, स्वरोजगार प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post