काठमाडौं । चाडपर्वका कारण रक्तदान कार्यक्रम घटेपछि केन्द्रीय रक्तसञ्चार सेवामा रगतको मौज्दात सकिएको छ। नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव भएपछि स्वयंसेवी रक्तदातालाई रक्तदान गर्न आग्रह गरेको छ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार दसैंको बिदामा कार्यालय तथा शैक्षिक संस्थामा रक्तदान कार्यक्रम कम भएका छन्। अर्कोतर्फ, अस्पतालमा बिरामीका लागि रगतको माग बढ्दै गएपछि आवश्यक रगत व्यवस्थापनमा कठिनाइ भएको हो।

सोसाइटीले केन्द्रीय रक्तसञ्चार सेवामा होल ब्लड, पिआरबीसी र पिआरपीको मौज्दात सकिएको जनाएको छ।
रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ व्यक्तिलाई रक्तदान गर्न रेडक्रसले अनुरोध गरेको छ।
रक्तदान गर्न वा रगत आवश्यक परेमा केन्द्रीय रक्तसञ्चार सेवामा सम्पर्क गर्न सकिनेछ। साथै, रेडक्रसको निःशुल्क हटलाइन ११३० मा फोन गरेर पनि जानकारी लिन सकिने सोसाइटीले जनाएको छ।










Discussion about this post