काठमाडौं । वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३’ को विस्तृत कार्यतालिका सार्वजनिक भएको छ। कात्तिक ८ गतेदेखि सुरु हुने रथयात्रा कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्संकल्पअनुसार आयोजना हुन लागेको रथयात्राले नेपालको पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्ने आयोजकले जनाएको छ।
मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले मुक्तिनाथ, पवित्र कालीगण्डकी र मुक्तिक्षेत्रको धार्मिक महत्त्वलाई देश–विदेशमा प्रचारप्रसार गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन र सनातन संस्कृतिको संरक्षणमा योगदान पुर्याउनेछ। यसले नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावना थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार रथयात्रा प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ। यात्राका क्रममा विभिन्न धार्मिक स्थल तथा तीर्थधाममा पुगेर दर्शन, पूजा–अर्चना र धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ।
मुक्तिनाथदेखि मेची हुँदै महाकालीसम्मको यात्रा
सार्वजनिक कार्यतालिकाअनुसार कात्तिक ८ गते मुक्तिनाथबाट सुरु हुने रथयात्रा जोमसोम, गलेश्वर हुँदै बेनी पुग्नेछ। त्यसपछि बागलुङ, कुश्मा र पोखरा हुँदै काठमाडौं प्रवेश गर्नेछ। कात्तिक ११ गते काठमाडौं उपत्यकाको परिक्रमा गरी भक्तपुर पुग्ने कार्यक्रम छ।
कात्तिक १२ गते भक्तपुरबाट साँगा, बनेपा, धुलिखेल र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्रा त्यसपछि पूर्वी नेपालतर्फ अघि बढ्नेछ। कात्तिक १३ देखि १७ गतेसम्म सिन्धुली, उदयपुर, चतरा, धरान, इटहरी, झापा, विराटनगर हुँदै जनकपुरधामसम्म यात्रा सञ्चालन हुनेछ।
कात्तिक १८ देखि २२ गतेसम्म जनकपुरधामबाट मधेश प्रदेशका विभिन्न स्थान हुँदै सिमरा, हेटौँडा, भरतपुर, नवलपुर र बर्दघाट पुग्ने कार्यतालिका छ। कात्तिक २३ गते बुटवल हुँदै नेपालगञ्ज पुग्ने रथयात्रा त्यसपछि कैलाली र कञ्चनपुरतर्फ अघि बढ्नेछ।
कात्तिक २४ गते टीकापुर हुँदै लम्कीचुहा र कात्तिक २५ गते पुनर्वास हुँदै महेन्द्रनगर पुग्ने कार्यक्रम छ। कात्तिक २६ गते अत्तरिया हुँदै धनगढी पुग्ने रथयात्रा त्यसपछि कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न स्थान हुँदै अघि बढ्नेछ।
कात्तिक २७ गते धनगढीबाट हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुर पुग्ने, कात्तिक २८ गते सुर्खेत हुँदै तुलसीपुर जाने तथा कात्तिक २९ गते घोराही, लमही र तौलिहवा हुँदै भैरहवा पुग्ने कार्यक्रम तय गरिएको छ।
रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर यात्रा समापन गरिनेछ।
मंसिर १ देखि विराट महायज्ञ
रथयात्रा समापनपछि त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने कार्यक्रम रहेको छ।
आयोजकले रथयात्रामा सहभागी भई धार्मिक तथा सांस्कृतिक एकताको अभियानलाई सफल बनाउन श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ।










Discussion about this post