काठमाडौं । बडादसैंको सातौँ दिन आज देशभरका घरघरमा विधिपूर्वक फूलपाती भित्र्याइँदै छ। नवरात्रको यस दिन नवदुर्गामध्ये सातौँ देवी कालरात्रिको पूजा–आराधना गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार कालरात्रि देवीलाई दुष्ट शक्तिको नाश गर्ने तथा भक्तजनलाई भयबाट मुक्त गराउने देवीका रूपमा पूजा गरिन्छ। नवरात्रभर नौ दुर्गाका विभिन्न स्वरूपको विधिपूर्वक पूजा–आराधना गरिन्छ।
दसैंको सातौँ दिन फूलपाती भित्र्याउने परम्पराअनुसार काठमाडौंस्थित हनुमानढोका दरबारको दसैं घरमा पनि गोरखाबाट ल्याइएको फूलपाती बाजागाजासहित भित्र्याइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष फूलपाती भित्र्याउने शुभ साइत बिहान ७ बजेर ३७ मिनेट निर्धारण गरेको छ।
आजकै दिन ऐतिहासिक तुलजा भवानीको जात्रा पनि विधिपूर्वक मनाइँदै छ। नवरात्रको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठहरूमा दर्शन तथा पूजाआराधना गर्न भक्तजनको घुइँचो लागेको छ।
नवमीसम्म नवदुर्गाको पूजा गरेपछि विजयादशमीका दिन टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। नेपालीहरूले विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन बडादसैं पर्व मनाउने गर्छन्।










Discussion about this post