काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणका आधारमा नभई योग्यता र क्षमताका आधारमा सिफारिस भएको बताएकी छन्।
बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उनको सिफारिस आरक्षणका आधारमा भएको हो कि भन्ने प्रश्न उठाएपछि झाले यस्तो जवाफ दिएकी हुन्।
उनले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र, परराष्ट्र नीति तथा कूटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको जानकारी दिइन्। अवसर प्राप्त गर्दा आरक्षणभन्दा योग्यता र क्षमतालाई प्राथमिकता दिनुपर्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ।
झाले आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवका आधारमा नियुक्तिको मूल्याङ्कन हुनुपर्ने बताइन्। कूटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको स्वीकार गर्दै उनले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोडेर जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरिन्।
सकारात्मक सोच, सिक्ने इच्छाशक्ति र दृढ प्रतिबद्धताका साथ नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भूमिका खेल्ने पनि उनले बताइन्।










Discussion about this post