कञ्चनपुर । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा कञ्चनपुरको दोधारा चाँदनीमा प्रभातफेरी, सडक नाटक र वृक्षारोपणलगायतका कार्यक्रम गरिएको छ ।
दोधारा चाँदनी नगरपालिकामा महाकाली सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना तथा डीसीए नेपाल, प्रोस्पर ग्लोबल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), युनिसेफ र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
नगरपालिकाको वडा नम्बर १० बाट सुरु भएको प्रभातफेरी वडा नम्बर ९ को आमभोज बजार पुगेर कोणसभामा परिणत भएको थियो । त्यसपछि विपद् जोखिम न्यूनीकरणका उपायबारे जानकारी दिने उद्देश्यले जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको थियो ।
नेपाल राष्ट्रिय समाज कल्याण संघको सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारका अनुसार दोधारा चाँदनीका वडा नम्बर ७, ८, ९ र १० बाढीको उच्च जोखिममा रहेकाले समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले मानवीय गतिविधि, प्राकृतिक स्रोतसाधनको अविवेकी प्रयोग र जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढिरहेको बताउनुभयो । उहाँले बाढी प्रभावित बस्तीमा जोखिम न्यूनीकरणका विभिन्न काम भइरहेको र नगरपालिकामा क्रियाशील गैरसरकारी संस्थाले पनि लामो समयदेखि सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
सडक नाटकमार्फत कलाकारहरूले विपद्को जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानी, पूर्वतयारी र समुदायको भूमिकाबारे सन्देश दिएका थिए ।
यसैबीच, दोधारा चाँदनी नगरपालिका–३ को पटराखल्लामा वृक्षारोपण गरिएको छ । जगबुडा नदीका कारण बाढी तथा डुबानको जोखिम रहने उक्त क्षेत्रमा बाँसलगायतका बिरुवा रोपिएको हो । नदीजन्य जोखिम न्यूनीकरण र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको आयोजकले जनाएको छ ।










Discussion about this post