काठमाडौँ । नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दशैँघर तथा पूजा कोठामा देवीको पूजा गरी भक्तजनले सुख, शान्ति र शक्तिको कामना गरिरहेका छन्।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा देवीको आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
चन्द्रघण्टा देवीको स्वरूप शान्त, सौम्य र करुणामयी रहेको मानिन्छ। विशेषगरी गीतसङ्गीत क्षेत्रमा संलग्न व्यक्तिहरूले पनि चन्द्रघण्टा देवीको आराधना गर्ने परम्परा छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको थियो भने दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ।
नवरात्रका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गरेको छ।








Discussion about this post