काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र सम्बन्धित दरबन्दीमा फिर्ता गर्न निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सुरक्षाको कामबाहेक घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिइएको जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ मा तोकिएको व्यवस्थाविपरीत सुरक्षाकर्मी खटाइएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो। मन्त्रालयले २०८३ असोज २२ गते नै सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको जनाएको छ।
गृह मन्त्रालयले निर्देशन तथा कार्यविधिविपरीत सुरक्षाकर्मी खटाएको पाइएमा सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही गरिने चेतावनीसमेत दिएको छ।
त्यस्तै, कानुनविपरीत सुरक्षाकर्मीलाई घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएको पाइएमा जानकारी दिन सर्वसाधारणलाई मन्त्रालयले आग्रह गरेको छ।
यस्तो गतिविधिबारे गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी वा उजुरी दिन सकिने मन्त्रालयले जनाएको छ। उजुरी तथा सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने पनि मन्त्रालयले स्पष्ट पारेको छ।











Discussion about this post