काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ।
बोर्डका अनुसार १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
सेवा प्रवाहलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागिएको बोर्डले जनाएको छ।
त्यस्तै, स्वास्थ्य बीमामा आबद्ध सामान्य तथा लक्षित वर्गका सबै बीमित परिवारले ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुनुका साथै बीमा दाबी व्यवस्थापन थप प्रभावकारी र विश्वसनीय हुने बोर्डको अपेक्षा छ।
स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई थप वैज्ञानिक र दिगो बनाउन बोर्डले रणनीतिक खरिद अध्ययन कार्यदलसमेत गठन गरेको छ। कार्यदलले ६० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउनेछ।
बोर्डले स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान, व्यवस्थित अभिलेख तथा प्रभावकारी दाबी व्यवस्थापन प्रणालीतर्फ अघि बढिरहेको जनाएको छ।










Discussion about this post