डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आजदेखि परम्परागत देहिजाँत मेला सुरु हुँदैछ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लाग्ने मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज राति रतेडी र भोलि दिउँसो दिउँसेडी मेला लाग्नेछ।
अमरगढी नगरपालिका–८ मा अवस्थित उग्रतारा भगवती मन्दिर डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा डाँडामा रहेको छ। मेलाको मुख्य आकर्षण परम्परागत देउरो हो।
छचोडा, खनमडा, दुमडा र जिलोडा भण्डार रहेका चार गाउँबाट रतेडीका क्रममा देउरो आएपछि दिउँसेडी मेला सुरु हुने परम्परा छ। मेलामा हजारौँ भक्तजनले भगवतीको पूजाआराधना गर्ने गर्छन्।
जनश्रुतिअनुसार करिब दुई हजार पाँच सय वर्षअघि लटाउली क्षेत्रमा खेत जोत्ने क्रममा हलोको फालीले जमिन खोतल्दा रगत बगेपछि देवी उत्पत्ति भएको विश्वास गरिन्छ। यही किंवदन्तीसँग जोडिएर उग्रतारा भगवतीको पूजाआराधना हुँदै आएको मान्यता छ।
धार्मिक आस्था, मौलिक संस्कृति र ऐतिहासिक परम्पराको पहिचान बोकेको देहिजाँत सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक मेलाका रूपमा परिचित छ।










Discussion about this post